नागढुङ्गा-मुग्लिन सडकको कालोपत्र गर्ने कार्य प्रभावित

Thankot Times

थानकोट ।

पश्चिम एसियामा जारी द्वन्द्वका कारण (अलकत्रा) बिटुमिनको आपूर्तिमा अवरोध आउँदा नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनामा कालोपत्रे गर्ने कार्य प्रभावित भएको छ ।

निर्माण सामग्रीको अभावमा आयोजनाको काम रोकिने अवस्थामा पुगेको आयोजनाले जनाएको छ ।

नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का प्रमुख केशवप्रसाद ओझाका अनुसार, वैदेशिक बजारबाट बिटुमिनको आपूर्ति सहज नहुँदा अहिले कालोपत्रेको काम प्रभावित भएको छ । ‘अहिलेको अवस्थाले गर्दा काम धेरै लामो समय जान सक्ने देखिँदैन,’ ओझाले भने ।

आयोजनाका दुईवटा खण्डमा कालोपत्र गर्नका लागि दैनिक दुई ट्याङ्कर बिटुमिन आवश्यक पर्छ । सामान्य अवस्थामा आयोजनाले दुई–तीन दिनका लागि पुग्ने गरी स्टक राख्ने गरेको भए पनि अहिले हप्तामा एक–दुई ट्याङ्र मात्रै बिटुमिन उपलब्ध भइरहेको छ । ओझाका अनुसार, पैसा जम्मा गरेर बुक गरिएको बिटुमिन समेत ठेकेदारले समयमा पाउन सकेका छैनन् ।

बिटुमिन मात्र नभई पेट्रोलियम पदार्थबाट बन्ने अन्य  बाइप्रोडक्टहरू  जस्तै पोलिथिन पाइपको आपूर्तिमा समेत समस्या देखिएको छ ।

निर्माण सामग्रीको अभाव र महँगीका कारण निर्माण व्यवसायीले ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न माग गरिरहेको र व्यवसायीहरूले भोगिरहेको समस्यालाई स्वीकार गर्दै ओझाले भने, ‘हामीले महँगो पैसा तिर्दा पनि बिटुमिनजन्य सामग्री पाउन सकेका छैनौँ भन्ने निर्माण व्यवसायीहरूको गुनासो छ, जुन हाम्रो जानकारीमा पनि आएको छ ।’

चुनावपछिको दुई हप्तामा पहिलो खण्डको अन्तिम तहको करिब ५ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ । त्यस्तै, दोस्रो खण्डमा को पहिलो तहको करिब डेढ किलोमिटर कालोपत्रे पनि सकिएको छ । तर, बिटुमिनको अनिश्चितताले गर्दा बाँकी काम कहिलेसम्म सुचारु राख्न सकिन्छ भन्नेमा आयोजना नै अन्योलमा छ ।

‘अहिले एउटा ट्यांकर बिटुमिन आउँछ, त्यसले भ्याउन्जेल काम गर्छौँ र फेरि अर्को नआउँदासम्म कुरेर बस्नुपर्ने अवस्था छ,’ ओझाले थपे,‘यस वर्ष लिइएको ‘एग्रेसिभ’ प्रगति गर्ने लक्ष्य बिटुमिन अभावका कारण पूरा नहुने देखिएको छ ।’

आयोजना प्रमुख ओझाले निर्धारित लक्ष्यबाट पछि हट्नुपर्ने स्थिति सृजना भएकोमा चिन्ता व्यक्त गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *