नेकपा एमालेले चैत २८ गते चन्द्रागिरि नगरमा विरोध प्रदर्शन गर्ने
थानकोट ।
नेकपा एमालेले बालेन शाह नेतृत्वको सरकारले प्रतिशोध साँधेको भन्दै केन्द्रदेखि वडातहसम्मै विरोध प्रदर्शनका कार्यक्रमको स्वरुप फेरेको छ ।
मंगलबार (चैत्र १७) बसेको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले देशव्यापी रूपमा सरकारको रवैयाविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका हुन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक समातिएपछि एमाले सरकारविरुद्ध आक्रामक भएको छ । यसैको विरोधस्वरुप विरोध र प्रदर्शनमा उत्रिएको एमालेले कार्यक्रमलाई विरोधबाट भेला, जनपरिचालन र सभामा बदलेको छ ।
कार्यक्रमअन्तर्गत चैत २५ मा सबै जिल्ला कमिटीमा कार्यकर्ता भेला र प्रशिक्षण गर्ने भएको छ ।
चैत २८ मा ७५३ वटै पालिकामा विरोध प्रदर्शन गर्ने कार्यक्रम ल्याएको छ ।
वैशाख ३ मा देशभरका ६ हजार ७४३ वटै वडामा भेला गर्ने, वैशाख ७ प्रदेशस्तरीय विरोध प्रदर्शन गर्ने र वैशाख १२ मा काठमाडौंमा विरोधसभा गर्ने घोषणा एमालेको छ ।















