थानकोटमा डलरको लोभ देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ

Thankot Times

थानकोट ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सस्तो दरमा अमेरिकी डलर साटिदिने बहानामा सर्वसाधारणलाई ठगी गर्ने दुई जनाको गिरोहलाई नियन्त्रणमा लिएको छ ।

नुवाकोटका दीपक थापालाई गत जेठ महिनामा थानकोटमा बोलाएर १२ हजार ६ सय अमेरिकी डलर सस्तोमा दिने प्रलोभनमा पारी ३ लाख रुपैयाँ ठगेर फरार रहेका व्यक्तिहरूलाई प्रहरीले कलङ्कीको नाग मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा नुवाकोट शिवपुरीका २८ वर्षीय सुवास तामाङ (सरोज) र मकवानपुर थाहा नगरपालिकाका २७ वर्षीय गौरव स्याङ्तान (पासाङ) रहेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यो गिरोहले निकै चलाखीपूर्ण ढंगले ठगी गर्ने गरेको खुलेको छ । उनीहरूले आफूहरू ट्रेकिङ वा भरियाको काम गर्ने व्यक्ति भएको र बाढी पहिरोमा डलर तथा अन्य विदेशी मुद्रा भेटाएको भन्दै मानिसहरूलाई विश्वासमा लिने गरेका थिए ।

सस्तोमा डलर पाउने लोभमा परेर नगद बुझाएपछि उनीहरू पैसा लिएर फरार हुने गरेको देखिएको छ । पक्राउ परेकाहरूको साथबाट प्रहरीले ५ थान सिम कार्ड र ३ थान मोबाइल समेत बरामद गरेको छ ।

पक्राउ परेकामध्ये सुवास तामाङ पुराना अपराधी भएको प्रहरी रेकर्डबाट पुष्टि भएको छ । उनी यसअघि २०७१ सालमा घर चोरी मुद्दामा जिल्ला अदालत काठमाडौँबाट कैद र जरिवानाको सजाय पाएका व्यक्ति हुन् ।

यसका साथै उनी चार पटकसम्म मोटरसाइकल चोरी मुद्दामा समेत पक्राउ परिसकेको खुलेको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *