सुन्धारा कारागारबाट भागेका हत्या आरोपी सात महिनापछि थानकोटबाट पुनः पक्राउ

Thankot Times

थानकोट ।

काठमाडौँको कालिमाटीस्थित परोपकार पुलमुनि भएको बीभत्स हत्याका मुख्य आरोपी सात महिनापछि पुनः प्रहरीको फन्दामा परेका छन् ।

२०८२ वैशाख १६ गते काभ्रेका विक्रम तामाङ (माइला) लाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा पक्राउ परेका सिन्धुपाल्चोकका ३३ वर्षीय आशिष श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चन्द्रागिरि नगरपालिका–४ थानकोटबाट समातेको हो ।

हत्याको आरोपमा पक्राउ परेपछि पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा थुनामा रहेका श्रेष्ठ गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको फाइदा उठाउँदै फरार भएका थिए ।

कारागारबाट भागेपछि लुकिछिपी बस्दै आएका उनलाई विशेष सूचनाको आधारमा बुधबार दिउँसो साढे ३ बजे थानकोटबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिएका छन् ।

पक्राउ परेका श्रेष्ठलाई बाँकी कारबाहीका लागि पुनः केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा नै पठाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *