एसइई परीक्षा आजदेखि, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै, चन्द्रागिरि नगरमा पाँच परीक्षा केन्द्र

Thankot Times

थानकोट ।

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहीबारदेखि सुरु हुँदैछ ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनका लागि सबै तयारी पूरा भएको जानकारी दिएको छ।

परीक्षणका लागि प्रश्न पत्र र उत्तरपुस्तिका सबै केन्द्रमा वितरण भइसकेका छन्। केन्द्राध्यक्षहरू नियुक्त भई सम्बन्धित परीक्षा केन्द्रमा पुगेका छन्। परीक्षा सञ्चालनका लागि कर्मचारी र सुरक्षाकर्मीको टोली पनि खटाइएको छ। यस वर्ष १ हजार ९६६ परीक्षा केन्द्र कायम गरिएको छ, जसमा एउटा केन्द्र जापानमा रहेको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी परीक्षा दिँदैछन्। विद्यार्थीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ अन्य सहभागी छन्। जापानको एभरेस्ट स्कुलबाट २३ विद्यार्थी सहभागी हुनेछन्। पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ।

बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार नतिजा परीक्षा सकिएपछि १ महिनाभित्र सार्वजनिक गर्ने तयारी छ। उत्तरपुस्तिका केन्द्राध्यक्षको निगरानीमा परीक्षण गरिनेछ। बोर्डले कम उत्तरपुस्तिका भएकाले त्रुटि कम हुने अपेक्षा गरेको छ।

तालिकाअनुसार आज १९ चैतमा अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । त्यस्तै, २० चैतमा अनिवार्य नेपाली, २२ चैतमा अनिवार्य गणित, २३ चैतमा विज्ञान तथा प्रविधि, २४ चैतमा सामाजिक अध्ययन, २५ चैतमा ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ चैतमा ऐच्छिक द्वितिय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुने छ ।

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार २७, २८ र २९ चैतमा भने प्राविधिक धारका बाँकी विषयका परीक्षा सञ्चालन हुने छ ।

शैक्षिक क्यालेन्डर अनुसार एसइई परीक्षा चैतको पहिलो साता हुनुपर्ने थियो। तर, २१ फागुनको प्रतिनिधि सभा निर्वाचनका कारण परीक्षा १९ चैतमा सारिएको हो। परीक्षा गत वर्षको भन्दा १२ दिन ढिलो हुन लागेको हो ।

गत वर्षको एसइई ७ चैतबाट सञ्चालन भएको थियो ।

चन्द्रागिरि नगरमा पाँच परीक्षा केन्द्र

चन्द्रागिरि नगरपालिका क्षेत्रबाट कुल २ हजार २ सय ७२ विद्यार्थी एसइईमा सहभागी हुनेछन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा सामुदायीक विद्यालयका ८ सय ३३ र संस्थागत विद्यालयका १ हजार ४ सय ३९ विद्यार्थी सहभागी हुने नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिए । परीक्षाका लागि नगर क्षेत्रका विभिन्न पाँच विद्यालयमा परीक्षा केन्द्र निर्धारण भएका छन् ।
परीक्षाका लागि चन्द्रागिरि नगरका विद्यामन्दिर मावि नैकाप (१४ विद्यालय, ३०७ परीक्षार्थी), विष्णुदेवी शिक्षा सदन मावि सतुङ्गल(१२ विद्यालय, ४४१ परीक्षार्थी), रिब्स मावि महादेवस्थान (७ विद्यालय, ३६१ परीक्षार्थी), प्रभात मावि चेकपोष्ट(१२ विद्यालय, ४१० परीक्षार्थी), मंगलोदय मावि थानकोट (९विद्यालय, ३९६ परीक्षार्थी) परीक्षा केन्द्र तोकिएको इकाइ प्रमुख उपसचिव डा. समन्तिमणि आचार्यले थानकोट टाइम्सलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ