पेट्रोलियम पदार्थको भाउ बढ्यो, पेट्रोलको भाउ प्रतिलिटर २०२ रुपैयाँ
थानकोट ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएकाे छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलकाे मूल्य वृद्धि गरिएको जनाएको हाे ।
निगमले विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको जनाएकाे छ । मूल्य समायाेजनसँगै अब तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो । यसअघि डिजेल र मट्टीतेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब बढेर १८२ रुपैयाँ पुगेको छ ।
यस्तै पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८४ रहेकामा अब १९९ रुपैयाँ ५० पैसा पुगेको छ, भने डिजेल/मट्टीतेलको मूल्य यसअघि प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर १७९ रुपैयाँ ५० पैसा कामय भएको निगमले जनाएकाे छ ।
यस्तै दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८६ रुपैयाँ रहेकामा अहिले बढेर २०१ रुपैयाँ पुगेको छ । डिजेल/मट्टीतेलको मूल्य पहिले प्रतिलिटर १६६ रुपैयाँ रहेकामा अब बढेर १८१ रुपैयाँ पुगेको निगमले जानकारी दिएकाे छ ।
विगत महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको छ । सो युद्धका कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्यवृद्धि भई इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेकाे विज्ञप्तिमा उल्लेख छ ।















