आज ६९औं राष्ट्रिय सहकारी दिवस, थानकोटमा विशेष समारोह आयोजना हुँदै
थानकोट ।
आज ६९औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम गरी देशव्यापी रूपमा मनाउने तयारी भइरहेको छ ।
सहकारीसँग सम्बद्ध संघसंस्थाहरूले अहिले बिहानैदेखि र्याली निकालेका छन् ।
चन्द्रागिरि नगरपालिकामा ६९औं सहकारी दिवसका लागि चन्द्रागिरि नगर स्तरीय राष्ट्रिय सहकारी समन्वय समितिको अभिभाकत्वमा सहकारी दिवस समारोह समिति गठन गरिएको छ ।
सो समितिका अनुसार चन्द्रागिरि नगरपालिका वडा नं. ०४ थानकोटस्थित कोटघरमा आयोजना हुने मूल समारोहका लागि नगरमा क्रियाशील सहकारीहरूका प्रतिनिधिहरू बिहान ७ बजे थानकोट इमाखेल र खानेपानी चोकस्थित हिमाल पम्पमा भेला भइ शुभकामना र्यालीमा परिणत भएका छन् ।
सहकारीकर्मीहरूको सो टोली तत्पश्चात बाजागाजा, झाँकी तथा र्यालीसहित थानकोट कोटघर पुगी शुभकामना सभामा परिणत हुने चन्द्रागिरि नगर सहकारी समन्वय समिति जनाएको छ ।
चन्द्रागिरि नगरमा विभिन्न प्रकृतिका करिब डेढ सय वटा सहकारी नगरपालिकाको नियमन क्षेत्रमा रहेको नगरको आर्थिक विकास शाखाले जनाएको छ ।














