राष्ट्रिय सहकारी दिवसका अवसरमा चन्द्रागिरि साकोसद्वारा बस भाडा डिजिटल भुक्तानी सेवा शुभारम्भ

Thankot Times

थानकोट ।

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. (चन्द्रागिरि साकोस) ले नेपालमै पहिलो पटक सार्वजनिक सवारी साधनको भाडा डिजिटल प्रणालीमार्फत भुक्तानी गर्ने सेवा सुरु गरेको छ।

६९औँ राष्ट्रिय सहकारी दिवस को अवसर पारेर चैत्र २० गतेबाट उक्त सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको हो।

यसका लागि चन्द्रागिरि साकोस र फिनटेक इन्टरनेशनल प्रा.लि. बीच सहमति पत्रमा हस्ताक्षर भएको छ।

नयाँ प्रणाली अन्तर्गत यात्रुहरूले ‘यात्रा कार्ड’ तथा मोबाइल एप प्रयोग गरी सार्वजनिक यातायातको भाडा डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्नेछन्।

यात्रुहरू बस चढ्दा र ओर्लँदा कार्ड ट्याप गर्ने वा मोबाइल एपको क्यूआर कोड बसमा जडान गरिएको मेसिनमा स्क्यान गर्नेबित्तिकै भाडा स्वतः कट्टा हुने व्यवस्था गरिएको छ।

साथै, उक्त यात्रा कार्ड प्रयोग गरी विद्युत्, खानेपानी लगायतका युटिलिटी बिलहरू समेत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

अमित श्रेष्ठ, फिनटेक इन्टरनेशनल प्रा.लि. का प्रमुख कार्यकारी अधिकृतका अनुसार नेपालमा यस प्रकारको सार्वजनिक सवारी भाडा डिजिटाइजेसन सेवा पहिलो पटक सुरु गरिएको हो।

त्यसैगरी, चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले संस्थाका सदस्यहरूले यस सेवा प्रयोग गर्दा सार्वजनिक सवारी भाडामा २५ प्रतिशतसम्म छुट प्राप्त गर्ने जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *