साफ यू-२० च्याम्प्यिनसिपको उपाधि बंगलादेशलाई
थानकोट ।
भारतलाई पेनाल्टीमा ४–३ ले पराजित गर्दै बंगलादेशले दोस्रोपटक साफ यू–२० च्याम्प्यिनसिपको उपाधि जितेको छ ।
बंगलादेशले यसअघि सन् २०२४ मा नेपाललाई फाइनलमा ४–१ ले पराजित गर्दै पहिलोपटक उपाधि चुमेको थियो ।
शुक्रबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा सम्पन्न फाइनल निर्धारित समयमा गोलरहित बराबरीमा रोकिएको थियो । यसपछि, खेलको नतिजाको निर्णय पेनाल्टी प्रहारबाट गरिएको हो । जसमा बंगलादेश भाग्यशाली रहयो । भारतले भने दोस्रोपटक उपाधि जित्ने मौका गुमायो ।
भारतले यसअघि सम्पन्न यू–२० च्याम्प्यिनसिपको पहिलो संस्करणमा बंगलादेशलाई नै हराएर उपाधि विजेताको सूचीमा आफ्नो नाम लेखाएको थियो । भारतले सन् २०२२ मा सम्पन्न पहिलो संस्करणमा बंगलादेशलाई पेनाल्टी प्रहारमै ५–२ ले पराजित गर्दै उपाधि उचालेको थियो ।
पेनाल्टीमा बंगलादेशलाई पहिला प्रहार गर्ने मौका दिइएको थियो । जसअनुसार टोलीका मोहम्मद मुर्सेद अली पहिलो प्रहार गर्न आए । उनले गोल गरे । यसपछि, प्रहारका लागि भारतका रिसी निङग्थौकाङग्जाम ऋिसी सिंह आए । सिंहले पनि गोल गरे । दोस्रो प्रहारमा बंगलादेशले चन्दोन राईलाई पठायो । चन्दोनले प्रहारलाई गोलमा परिणत गरे । भारतबाट दोस्रो पेनाल्टी प्रहार गरेका अहोंग्साङबोगं सामसानले पनि गोल गरे । बंगलादेशले तेस्रो प्रहारमा अब्बदुल फहिमलाई मौका दियो । फहिमले बललाई बायाँ पोष्टको ‘बटम कर्नर’ चुमाए । भारतबाट तेस्रो प्रहारमा आएका विशाल यादव पनि गोल गर्नबाट चुकेनन् । उनले बललाई पोष्टको ‘टप कर्नर’ चुमाउँदै गोल गरेका थिए । बंगलादेश र भारत चौथो प्रहारमा भने चुके । बंग्लादेशका सामियल रक्षमले गरेको प्रहार पोष्टको ‘क्रसबारमा’ लाग्दै मैदानतर्फ फर्कियो । भारतले ३–४ को अग्रता लियो । भारतका ओमंग दोदुमले गरेको प्रहारले दिशा लिन नसक्दा पोष्टबाट बाहिरिएको थियो । यसको नजितास्वरुप पेनाल्टी प्रहार ४–४ को बराबरीमा रोकियो ।
यसपछि, बंगलादेशका रोनान सुलिभानले पाँचौँ पेनाल्टी प्रहारमा गोल गरेपछि, टोलीले दोस्रोपटक उपाधि सुनिश्चित गरेको हो ।














