सात दिनभित्र एन्फामा चुनाव गराउन नेपाल सरकारलाई फिफाको निर्देशन (पत्रसहित)
थानकोट ।
फुटबलको सर्वोच्च निकाय फिफाले सात दिनभित्र चुनाव गराउन निर्देशन दिएको छ ।
फिफाले सरकारलाई पत्र लेख्दै अखिल नेपाल फुटबल संघ (एन्फा)मा लगाएको निलम्बन हटाउँदै सात दिनभित्र चुनाव गराउन भनेको छ ।
आफ्नो स्वीकृतिबिना गर्न लागेको एन्फा निर्वाचनलाई स्थगित गर्न दिएको निर्देशन पालना नगरेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको छ ।
निलम्बन गरेसँगै अर्ली इलेक्सन गर्न झापा पुगेको एन्फाले निर्वाचन स्थगित गरेको थियो ।
फिफाको पत्र लिएर एन्फा पदाधिकारीहरू राखेप जाँदै छन् ।
एन्फा स्रोतका अनुसार, फिफाले सरकारले एन्फा निर्वाचनमा गरेको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा लिएको छ । तेस्रो पक्षको हस्तक्षेपलाई फिफाले स्वीकार गर्दैन ।
एन्फाका एक पदाधिकारीले भने, “सरकारले निलम्बन फुकुवा गर्न र सात दिनभित्र चुनाव गर्ने वातावरण तयार पार्न फिफाले कडाइका साथ भनेको छ । यदि चुनाव गर्न दिएन भने चाहिँ एन्फा फिफाको प्रतिबन्धमा पर्नेछ ।”
चैत १३ मा एन्फाको निर्वाचन गर्ने तालिका थियो । देशभरबाट बहुमत पुग्ने मताधिकार प्रतिनिधि पनि झापा पुगेका थिए । त्यस्तै, निर्वाचनको पर्यवेक्षक बन्न फिफाबाट दुईजना प्रतिनिधि पनि झापा पुगिसकेका थिए ।
तर, अन्तिम समयमा भने चुनाव स्थगित गर्ने निर्णय गरिएको थियो । एन्फाका अनुसार, फिफाले नै निर्वाचन स्थगित गर्न भनेपछि मात्र चुनाव रोकिएको हो । अन्यथा, राखेपले चैत ११ मै निलम्बन गरेपछि एन्फा टोली निर्वाचन गर्ने भन्दै चैत १३ मा झापा पुगेको थियो
त्यतिबेला फिफाले निर्वाचन किन स्थगित गर्न भन्यो भन्ने विषयमा एन्फाले कारण खुलाएन ।
निर्वाचन स्थगित भएको नौ दिनपछि मात्रै फिफाले प्रतिक्रिया जनाएको हो ।
निलम्बित एन्फाले यदि चैत्र १३ गते निर्वाचन गर्न नदिए नेपाल प्रतिबन्धमा पर्ने विषय बारम्बार दोहोर्याउँदै आएको छ।














