कीर्तिपुरमा मोटरसाइकलबाट पेट्रोल चोरी गर्ने गिरोह पक्राउ
थानकोट ।
कीर्तिपुर नगरपालिका-९ स्थित एक घरमा पार्किङ गरी राखिएको मोटरसाइकलबाट पेट्रोल चोरी गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
यही चैत २२ गते राति करिब १:३० बजे बा.२९ प २४२ नम्बरको मोटरसाइकलबाट पेट्रोल चोरी भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका–५ घर भई हाल कीर्तिपुर–९ टुसाल बस्ने २१ वर्षीय समिर बि.क. रहेका छन्। उनलाई नियन्त्रणमा लिएपछि निज बसोबास गर्ने कोठामा खानतलासी गर्दा थप चोरीका सामान फेला परेपछि अन्य तीन जनालाई समेत पक्राउ गरिएको हो।
पक्राउ पर्ने अन्य व्यक्तिहरूमा बर्दिया गुलरिया–५ घर भई कीर्तिपुर–५ बस्ने २३ वर्षीय सुवाश बि.क., नुवाकोट बेलकोटगढी–७ घर भई तारकेश्वर–७ बस्ने २८ वर्षीय रमेश सदाशंकर तथा बर्दिया बाँसगढी–७ घर भई हाल काठमाडौं बस्ने २३ वर्षीय सन्देश श्रीपाली रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट नगद ५६ हजार, तामाबाट बनेको जस्तो देखिने ४० थान मूर्ति, १५ बन्डल चुरोट, ६ थान एन्ड्रोइड मोबाइल, ४ थान कीप्याड मोबाइल, सुन तथा चाँदीजस्तो देखिने विभिन्न गरगहना, २ थान मोटरसाइकल र १० थान हेलमेट बरामद गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














