एनपीएल सिजन-२ बाट क्यानलाई ९ करोड २१ लाख नाफा

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणबाट ९ करोड २१ लाख रुपैयाँ नाफा गरेको छ ।

सोमबार केन्द्रीय कार्यालय मूलपानीमा बसेको बैठकलेपछि क्यानले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको विवरणअनुसार एनपीएलको कुल आम्दानी ४७ करोड ३६ लाख तथा कुल खर्च २१ करोड ९६ लाख ५ हजार रुपैयाँ छ ।

आम्दानी र खर्चको अन्तर २५ करोड ३९ लाख ९५ हजार रुपैयाँ रहेकोमा त्यसको ५० प्रतिशत अर्थात् १६ करोड १८ लाख ७३ हजार रुपैयाँ आठ फ्रेन्चाइज टिमलाई वितरण गरिएको छ ।

यो वितरणपछि क्यानलाई ९ करोड २१ लाख २१ हजार ९२५ रुपैयाँ आम्दानी भएको छ ।  पहिलो संस्करणबाट क्यानले करिब साढे २ करोड आम्दान गरेको थियो ।

यसैगरी, बैठकले वार्षिक साधारणसभा २७ र २८ वैशाखमा कोशी प्रदेशको विराटनगरमा गर्ने, त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको करार सम्झौता अवधि समाप्त हुन लागेको र सम्झौता अवधि थप तथा हाल राष्ट्रिय खेलकुद परिषद् ( राखेप) को स्वामित्वमा रहेको तल्लो मूलपानी क्रिकेट मैदान क्यानलाई हस्तान्तरण गरिदिनका लागि राखेपमार्फत नेपाल सरकार समक्ष अनुरोध गर्ने, ४ वर्षे पदावधि समाप्त भएका नेपाल क्रिकेट संघका २० जिल्लाहरूको कार्यकाल जेठ मसान्तसम्म थप गर्ने र आइसिसीको निर्देशन बमोजिम क्यान वार्षिक रुपमा प्राप्त हुने बजेटबाट महिला क्रिकेट खेलको विकासको लागि ५ लाख डलर लगानी गर्नुपर्ने भएको हुँदा यस वर्ष देखि समग्र महिला क्रिकेटको विकासमा ५ लाख डलर लगानीको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *