धादिङकी २२ वर्षीया आरतीको ‘प्लान’मा डिसहोमको कर्मचारी बनेर २९ लाखभन्दा बढी ठगी
थानकोट ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डिसहोमको कर्मचारी बनेर सर्वसाधारणलाई ठगी गर्ने एक गिरोहलाई नियन्त्रणमा लिएको छ। विशेष अफरको लोभ देखाएर ग्राहकहरूबाट रकम असुल्ने कार्यमा संलग्न धादिङकी २२ वर्षीया आरती सिंखडा, दोलखाका २२ वर्षीय विष्णु कार्की र रामेछापका ४७ वर्षीय असल सिंह तामाङलाई प्रहरीले काठमाडौँको टोखाबाट पक्राउ गरेको हो।
यो गिरोहले डिसहोमका नियमित ग्राहकहरूलाई फोन गरेर ‘एक वर्षको रिचार्ज गर्दा चार महिनाको बोनस रिचार्ज’ उपलब्ध गराउने भन्दै झुक्याउने गरेको पाइएको छ। उनीहरूले ग्राहकको विश्वास जित्नका लागि नक्कली रसिद र छापको समेत प्रयोग गर्ने गरेका थिए।
अनुसन्धानका क्रममा मुख्य योजनाकार आरती सिंखडाले करिब चार वर्षसम्म डिसहोमको सब-डिलर र इन्टरनेट सेवामा काम गरेको खुलेको छ। सोही समयमा उनले बनाएका पुराना ग्राहकहरूको विवरण प्रयोग गरी यो ठगी धन्दा चलाएको प्रहरीको दाबी छ।
प्रहरीले उनीहरूको साथबाट प्रविधि इम्पेक्स प्रालिको छाप, रसिद प्याड, आरती सिंखडाको नाममा रहेको नक्कली परिचयपत्र र ग्राहकहरूको हिसाब किताब राखिएको डायरी समेत बरामद गरेको छ।
आरतीले आफ्नै र श्रीमानको इसेवा, खल्ती तथा बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेको अनुसन्धानबाट देखिएको छ। उनले प्रयोग गर्ने रसिद र छाप गोंगबुको एक आर्ट पसलबाट नक्कली बनाएको समेत पुष्टि भएको छ।














