लागुपदार्थ दुर्व्यसनविरुद्ध चेतना जगाउन थानकोटमा सडक नाटक देखाउँदै डियर वाक स्कुल
थानकोट ।
लागुपदार्थ दुर्व्यसनविरुद्ध जनचेतना जगाउन डियर वाक धादिङ स्कुलले सडक नाटक अभियान सुरु गर्ने भएको छ ।
सो विद्यालयले यही चैत्र २६ र २७ गते धादिङ र काठमाडाैं जिल्लाका विभिन्न ८ स्थानमा सडक नाटक प्रहसन गर्न लागेको हो ।
सडक नाटक ‘नो मिन्स नो’ चैत्र २६ गते बिहीबार बिहान ७ः३० बजे धादिङको जीवनपुरमा सुरु हुनेछ ।
सोही दिन बिहान ९ बजे सिम्लेमा नाटक प्रहसन हुनेछ ।
यस्तै, दिउँसो १ः४५ बजे धादिङकै थादोबाटोमा नाटक प्रहसन हुने विद्यालयले जनाएको छ। सोही दिन ३ः३० बजे धार्के बजारमा नाटक प्रहसन हुनेछ ।
विद्यालयका १० जना विद्यार्थीहरूको टोलीले चैत्र २७ गते सो नाटक धादिङको भज्याङपोखरीमा बिहान ७ः३० बजे प्रहसन गरेपछि बिहान ११ बजे काठमाडाैंको नागार्जुन नगरपालिकास्थित हरिसिद्धीचोकमा अर्को प्रस्तुति दिनेछ ।
दिउँसो २ बजे चन्द्रागिरि नगरपालिका-१ दहचोकमा सडक नाटक देखाएपछि उक्त टोली अर्को प्रस्तुतिका लागि अपरान्ह ४ बजे थानकोट चेकपोष्टमा पुग्ने तालिका रहेको जनाइएको छ ।
डियर वाकका विद्यार्थीहरूले गत माघ महिनामा भारतको मुम्बइ शहरमा विभिन्न २० राष्ट्रका विद्यार्थीहरू सम्मिलित नाटक सम्मेलनमा समेत प्रस्तुति दिएका थिए ।
उक्त नाटकले समाजमा लागुपदार्थ दुर्व्यसनविरुद्ध सचेतना जगाउने अपेक्षा लिइएको विद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
डियर वाक धादिङ स्कुलमा हाल करिब २५० जना विद्यार्थी अध्ययनरत छन् ।














