नयाँ शैक्षिक सत्र लक्षित पाठ्यपुस्तक छपाइ सम्पन्न
थानकोट ।
आगामी शैक्षिक सत्रलाई लक्षित गर्दै जनक शिक्षा सामग्री केन्द्रले करिब १ करोड ७० लाख पाठ्यपुस्तक मुद्रण कार्य सम्पन्न गरेको जनाएको छ।
सरकारले १५ वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको सन्दर्भमा सो अवधिसम्म विद्यार्थीलाई आवश्यक पाठ्यपुस्तक उपलब्ध गराउने गरी वितरण व्यवस्थापन मिलाइएको केन्द्रले स्पष्ट पारेको छ।
मुद्रित सामग्री प्रदेशस्तरीय संरचनामार्फत वितरण गरिनेछ भने १ हजार २६० आधिकारिक बिक्रेताले सम्बन्धित स्थानीय तहसम्म पुस्तक पुर्याउने जिम्मेवारी लिने व्यवस्था गरिएको छ।
केन्द्रका अनुसार, हालै सम्पन्न २१ फागुनको निर्वाचन प्रक्रियाले पाठ्यपुस्तक छपाइ कार्यमा कुनै प्रकारको अवरोध सिर्जना गरेको छैन।
पाठ्यपुस्तक मुद्रणको जिम्मेवारी अन्तर्गत कक्षा १, २ र ४ बाहेकका कक्षाका पुस्तकहरू केन्द्रले नै छाप्ने गरेको छ भने उक्त कक्षाका पुस्तकहरू निजी क्षेत्रमार्फत उत्पादन हुने व्यवस्था कायम रहेको जनाइएको छ।














