नैकापका एक युवामाथि हङकङ पठाइदिने भन्दै कम्बोडिया पुर्याएर बन्धक बनाएको अभियोग
थानकोट ।
हङकङ पठाइदिने भन्दै कम्बोडिया पुर्याएर बन्धक बनाएको अभियोगमा प्रहरीले चन्द्रागिरि नगरपालिका नैकापका २३ वर्षीय युवालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार ती युवाले एक जनालाई हङकङको होटलमा मासिक एक लाख रुपैयाँ तलब हुने वेटरको काम लगाइदिने प्रलोभन देखाएर लागत खर्चबापत तीन लाख रुपैयाँ असुलेका थिए।
त्यसपछि गत पुस १३ गते काठमाडौँबाट दिल्ली, भियतनाम हुँदै कम्बोडिया पुर्याएर ती व्यक्तिलाई एउटा कम्पनीमा बन्धक बनाइएको थियो।
पीडितको पासपोर्ट, मोबाइल र साथमा भएको डलरसमेत खोसेर डरत्रास देखाउँदै जबर्जस्ती अनलाइन स्क्यामको काममा लगाइएको अनुसन्धानबाट खुलेको छ।
उक्त कम्पनीमा छापा मारिएपछि कम्पनी सार्ने क्रममा भागेर कम्बोडियामै रहेका एक नेपालीको सहयोगमा पीडित नेपाल फर्किन सफल भएका थिए।
पीडितको जाहेरीका आधारमा चैत २४ गते काठमाडौँबाट पक्राउ परेका उनलाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।













