प्रधानमन्त्री बालेनलाई बेलायती प्रधानमन्त्री स्टार्मरको पत्र

Thankot Times

थानकोट ।

नेपालका लागि बेलायती राजदूत रोब फेनले बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले पठाएको बधाई पत्र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई हस्तान्तरण गरेका छन्।

बुधबार राजदूतहरुसँग गरिएको सामुहिक भेटका क्रममा राजदूत फेनले सो पत्र हस्तान्तरण गरेका हुन्।

पत्र हस्तान्तरण गर्दै राजदूत फेनले नेपालको लोकतान्त्रिक पुनर्जागरणको बेलायतले प्रशंसा गरेको बताए।

प्रधानमन्त्री बालेनको नेतृत्वमा सिर्जना भएको नयाँ लय र गतिलाई जोगाइराख्न बेलायतले सहयोग गर्न चाहेको सन्देश फेनले दिएका थिए।

बेलायती प्रधानमन्त्री स्टार्मरले आफ्नो पत्रमा बालेनलाई प्रधानमन्त्री निर्वाचित भएकोमा बधाई दिँदै नेपाल र बेलायतबिच लामो समयदेखिको मित्रता रहेको स्मरण गरेका छन्। आर्थिक वृद्धि, जलवायु उत्थानशीलता र सुरक्षा जस्ता साझा प्राथमिकतामा दुवै देशको समान चासो रहेको उनले पत्रमा उल्लेख गरेका छन्।

दुई देशबीचको सम्बन्ध अब एक फस्टाउँदो र आधुनिक साझेदारीमा परिणत भएको भन्दै स्टार्मरले नेपाल नयाँ युगमा प्रवेश गरिरहँदा यो मित्रतालाई थप प्रगाढ बनाउन आफू दृढ रहेको सन्देश पठाएका छन्। लोकतान्त्रिक, समृद्ध र उत्थानशील नेपालसँग साझा सुरक्षा र समृद्धिका हितहरू पूरा गर्न थप सहकार्य गर्ने प्रतिबद्धतासमेत बेलायती प्रधानमन्त्रीले व्यक्त गरेका छन्।

दुई देशबिचको जनस्तरको सम्बन्ध र जोडाइप्रति आफूलाई निकै गर्व रहेको बताउँदै स्टार्मरले नेपाल र बेलायतको मूल्यवान मित्रता र सहकार्यको अर्को अध्यायमा प्रधानमन्त्री बालेनसँग मिलेर काम गर्न आफू आतुर रहेको पत्रमा लेखेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *