एपोलो हाइड्रोपावरको आईपीओ बिक्री खुला, चैत्र ३० गतेभित्र आवेदन दिन सकिने
थानकोट ।
एपोलो हाइड्रोपावर लिमिटेडले आज (चैत २६) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँबराबरको १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये चार लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र ९४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले सामूहिक लगानी कोषहरूका लागि ३७ हजार कित्ता र कम्पनीका कर्मचारीहरूका लागि १८ हजार ८०० कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।
अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको सात करोड ८० लाख २० हजार रुपैयाँबराबरको सेयर निष्कासन गर्न लागेको हो । प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका सात लाख ८० हजार २०० कित्ता साधारण सेयर सर्वसाधारण सेयरधनीहरूका लागि निष्कासन गर्न लागेको हो ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ९४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओमा चैत ३० गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा आवेदन समय वैशाख १० गतेसम्म लम्बिने छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिने छ भने सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सकिने छ ।














