थानकोट-एअरपोर्ट रुटमा बैशाख १ बाट रात्रिकालीन यात्रु बस सेवा सुरु हुँदै

Thankot Times

थानकोट ।

काठमाडौँ उपत्यकाको रात्रिकालीन जनजीवनलाई सहज बनाउन आगामी नयाँ वर्ष वैशाख १ गतेदेखि रात्रिकालीन साझा बस सेवा सञ्चालनमा आउने भएको छ ।

बिहीबार काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र साझा यातायात लगायतका सरोकारवाला निकायबिच रातको समयमा पनि सुरक्षित र भरपर्दो सार्वजनिक यातायात उपलब्ध गराउने विषयमा छलफल भएको हो ।

छलफलमा काठमाडाैं महानगर कार्यवाहक मेयर सुनिता डंगोल, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन, चन्द्रागिरि नगरका मेयर घनश्याम गरी लगायतको उपस्थिति रहेको थियो ।

बैठकमा यात्रुहरूको सुविधालाई केन्द्रमा राखी सेवा सञ्चालनलाई थप व्यवस्थित, प्रभावकारी तथा उत्तरदायी बनाउने विषयमा साझा धारणा निर्माण गरिएको छ ।

महानगरपालिकाले नागरिकको सुविधालाई ध्यानमा राख्दै पहिलो चरणमा दुई वटा प्रमुख रुटमा रात्रिकालीन विद्युतीय बस चलाउने तयारी गरेको छ। पहिलो रुटले उत्तर र दक्षिणलाई जोड्नेछ ।

यो रुट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ। करिब १६ किलोमिटर लामो यो रुटले सहरका मुख्य अस्पतालहरूलाई समेट्ने भएकाले बिरामी र तिनका आफन्तलाई ठुलो राहत पुग्ने विश्वास गरिएको छ ।

त्यसैगरी दोस्रो रुट पूर्व–पश्चिम दिशामा सञ्चालन हुनेछ। थानकोटबाट सुरु हुने यो सेवा सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्नेछ। २० किलोमिटर लामो यो रुटले विमानस्थल जाने र फर्कने यात्रुसहित मुख्य सहरी क्षेत्रका बासिन्दालाई सेवा दिनेछ।

सुरुवाती चरणमा यी दुई रुटमा ४ वटा अत्याधुनिक विद्युतीय बसहरू सञ्चालन गरिनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *