नागढुङ्गामा सरप्राइज चेकिङ, लापसे गरी सवारीसाधन चलाउने ६ जना चालक पक्राउ
थानकोट ।
नागढुङ्गामा गरिएको विशेष चेकिङका क्रममा लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेकपोस्टमा बिहीबार गरिएको परीक्षणपछि उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा ४ जना ट्रक चालक, १ जना सार्वजनिक यात्रुबाहक बसका चालक र १ जना माइक्रोबसका चालक रहेका छन् । काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा उनीहरूको स्वास्थ्य परीक्षण गरेको थियो ।
लागूपदार्थ सेवन गरी सवारी चलाउँदै गरेको अवस्थामा फेला परेका ६ जनालाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि प्रहरी प्रभाग नागढुङ्गा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
यात्रु बोक्ने जस्तो संवेदनशील पेशामा रहेका चालकले नै लागूपदार्थ सेवन गर्नु गम्भीर र दण्डनीय अपराध भएको प्रहरीको ठहर छ । यसबाट चालकको मात्र नभई निर्दोष यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भन्दै ट्राफिक प्रहरीले सचेत रहन आग्रह गरेको छ ।
सवारीसाधन यात्रा गर्दा चालकले लागुपदार्थ वा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न यात्रुहरूलाई अनुरोध गरिएको छ ।














