क्रिकेटर करण केसीलाई एक खेलको प्रतिबन्ध, यस्तो छ कारण
थानकोट ।
नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर करण केसीलाई एक खेलका निम्ति प्रतिबन्ध लगाएको छ ।
विभागीय टिम नेपाल पुलिस क्लबबाट प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता खेलिरहेका करणलाई क्यानले आइतबार (चैत २९) एक खेलका निम्ति प्रतिबन्ध लगाएको हो ।
शनिबार (चैत २८) करणले सामाजिक सञ्जालमा यदि खेलाडी र अम्पायरबीच हातपात हुँदा के हुन्छ होला ? भनेर सामाजिक सञ्जाल ‘एक्स’मा कमेन्ट गरेका थिए । आइतबार संघले उनको यही कमेन्टप्रति ध्यानाकर्षण भएको जनाउँदै कारबाही गरेको हो ।
संघले करणलाई एक खेलमा प्रतिबन्ध लगाउनुका साथै १०० प्रतिशत म्याच शुल्क जरिबाना तिराउने निर्णय गरेको छ ।
“प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत खेलहरू सञ्चालन भइरहेका क्रममा नेपाल पुलिस क्लबका खेलाडी करण केसीले अम्पायरहरूप्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ,” क्यानले विज्ञप्तिमा उल्लेख गरेको छ ।
हाल उनी आबद्ध पुलिस तालिकाको तेस्रो स्थानमा छ । सात खेल खेलेको पुलिसले चार जित र दुई हारसहित यो नतिजा आत्मसाथ गरेको हो । पुलिसको एक खेल भने रद्द भएको थियो ।













