धादिङको ज्वालामुखी मुलुकको पहिलो स्वच्छ गाउँपालिका घोषणा

Thankot Times

थानकोट ।

धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकालाई मुलुकको पहिलो सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरिएको छ ।

संविधानले निर्दिष्ट गरेको मौलिक हक र सरसफाइसम्बन्धी रणनीतिक योजना कार्यान्वयन गर्दै ज्वालामुखी गाउँपालिकाले सफा तथा स्वच्छ पालिकाका रूपमा घोषणा गरेको हो ।

ज्वालामुखी गाउँपालिका-४ ढोलामा आइतबार (चैत्र २९) आयोजित विशेष कार्यक्रमसहित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले ज्वालामुखी मुलुकको पहिलो सफा तथा स्वच्छ गाउँपालिका बनेको घोषणा गरेका हुन् ।

उनले सरसफाइ र स्वच्छतासम्बन्धी समुदायको सोचमा सकारात्मक परिवर्तन ल्याई सफा तथा स्वच्छ गाउँ अभियानलाई पूर्ण सार्थकता दिन सफल भएकामा प्रशंसा गरे ।

त्यहाँका प्रत्येक घरधुरीमा सरसफाइ सुविधा, सुरक्षित खानेपानीको पहुँच र व्यक्तिगत स्वच्छता अभ्यासको पूर्णपालना गराई सफा तथा स्वच्छ पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताए ।

ज्वालामुखी गाउँपालिकामा छ हजार ७९ घरधुरी छन् । त्यसमध्ये पाँच हजार ४३३ घरधुरी आवासको रूपमा प्रयोग भइरहेका छन् । सबै घरधुरीमा सुरक्षित र शुद्ध पानी, शौचालय, चुलोलगायत स्वच्छताका आधारको प्रयोग भइरहेको अध्यक्ष दनैले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *