गृहमन्त्रीको कार्यशैलीप्रति रास्वपाकै सांसदले गरे प्रधानमन्त्री बालेनसँग गुनासो

Thankot Times

थानकोट ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नै गृहमन्त्री सुधन गुरुङको कार्यशैलीमाथि गुनासो गरेका छन् ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलमा काभ्रे–१ का सांसद मधुकुमार चौलागाईं र धादिङ–१ की सांसद आशिका तामाङले गृहमन्त्री जिल्लामा आउँदा समन्वय नगरेको भन्दै आपत्ति जनाए । बालेनले सोमबार बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए ।

उनीहरूले सोही क्रममा गृहमन्त्रीको कार्यशैलीमाथि गुनासो गरेका हुन् ।

“गृहमन्त्री जिल्लामा जाँदा हामी (सांसदहरू) सँग समन्वय गर्नुभएन । त्यसले गर्दा हामीले आफ्ना समस्या भन्न पाएनौँ । उहाँ सडक–सडक हिँड्नुभयो,” स्रोतले ती सांसदका भनाइ उद्धृत गर्दै भन्यो, “सडकमा हिँडेर भित्री कुरा कसरी थाहा हुन्छ ? यसरी भएन । मन्त्रीले समन्वय गर्नुपर्‍यो ।”

उनीहरूले समवन्यका लागि मन्त्रीसँग स्वकीय सचिव भए पनि आफूहरूसँग उनलेसमेत समन्वय नगरेको गुनासो बालेनलाई पोखे । छलफलका क्रममा सांसदहरूले पनि स्वकीय सचिव पाउनुपर्ने माग राखेका थिए ।

गृहमन्त्री गुरुङ केही दिनअघि काभ्रेको रोशी खोला पुगेर क्रसर र ढुंगाखानी बन्द गराउन निर्देशन दिएका थिए । २०८१ असोजमा गएको बाढीले तहसनहस बनाएको क्षेत्रमा गृहमन्त्री गुरुङ पुगेका थिए । उनी चितवन पनि पुगे ।

सांसदहरूले गृहमन्त्रीका विषयमा गरेको गुनासोबारे बालेनले भने केही जवाफ दिएनन् । उनले करिब २ मिनेट बोलेको एक सांसदले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ