राष्ट्रिय सहकारी बैंकको सञ्चालकमा परितोष पौडेल विजयी
थानकोट ।
राष्ट्रिय सहकारी बैंकको सञ्चालकमा डा. परितोष पौडेल निर्वाचित भएका छन् ।
बैंक सञ्चालक समितिको सदस्यका लागि शनिबार भएको मतदानबाट पौडेल विजयी भएका हुन् ।
रामशरण घिमिरे र परितोष पौडेल बागमती प्रदेशबाट बैंक सञ्चालकका लागि चुनावी प्रतिस्पर्धामा थिए ।
पौडेलले १ हजार ८ सय २७ मत पाए । उनले २७५ मतान्तरले घिमिरेलेलाई पराजित गरेका हुन् ।
पौडेलले बागमतीमा ५८५ मत पाएका छन् भने कोशीमा ३४४ मत पाएका छन् । त्यस्तै, उनले गण्डकीमा ३२४, लुम्बिनीमा २५३, मधेसमा १४२, कर्णालीमा १०७ र सुदूरपश्चिममा ७२ मत पाएका छन् ।
शनिवार भएको निर्वाचनमा ३ हजार ३९४ मत खसेको थियो । जुन कुल मतदाताको ३९.११ प्रतिशत हो । जम्मा मतदाता ८ हजार ६७९ जना मतदाता थिए ।
निर्वाचन समितिका अनुसार घिमिरेले १ हजार ५ सय ५२ मत प्राप्त गरेका छन् । योसँगै सहकारी बैंकको भावि अध्यक्ष पौडेल नै बन्ने सम्भावना बलियो बनेको छ ।
सात प्रदेशबाट १/१ जना प्रतिनिधि सदस्यसहित दुईजना विज्ञ सदस्य गरी ९ सदस्यीय सञ्चालक समितिले अध्यक्ष चयन गर्नेछ । बागमती प्रदेश बाहेक छ वटा प्रदेशमा सहमतिमा सञ्चालक सदस्य टुंगाएकोमा यस प्रदेशमा मात्र निर्वाचन भएको हो ।
खासगरी नेकपा एमालेका तर्फबाट उमेदवार रहेका पौडेल र घिमिरेबीच सहमति हुन नसक्दा चुनाव भएको हो । अरु प्रदेशमा भने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सहमतिमा सञ्चालक चयन गरेका छन् । निर्वाचित सञ्चालनकहरू मध्येबाट अध्यक्ष चयन हुनेछ ।












