नेपाली फिल्मको फन्ट डिजाइन गरेर ५० हजार रूपैयाँ जित्ने अवसर
थानकोट ।
नेपाली फिल्म मेकरहरुले बेला बखतमा नयाँपनको खोजी गर्न प्रतिभा भएका व्यक्तिहरुका लागि विभिन्न अवसर प्रदान गरिरहेका हुन्छन् । दशैंमा रिलिज भएको फिल्म ‘दुई नम्बरी’को टिमले टाइटल गीत तयार गर्न ५० हजार राशीको प्रतियोगिता नै घोषणा गरेको थियो । नेपाली फिल्मको इतिहासमा यो नौलो अभ्यास थियो ।
यस्तै, अलग किसिमको अभ्यास फिल्म ‘जेरी २’को टिमले पनि गरेको छ ।
शुक्रबार एक पोस्टर जारी गर्दै फिल्मका लागि फन्ट डिजाइन प्रतियोगिताको घोषणा गरिएको छ । फिल्मको फन्ट केही नयाँ र फरक गर्ने सोचले प्रतियोगिताको घोषणा गरिएको निर्माता सरोज न्यौपानेले बताए । ५० हजार राशीको प्रतियोगितामा सहभागी हुन इच्छुकले आफ्नो कल्पनामा आधारित भएर डिजाइन बनाउनु पर्नेछ । डिजाइनको छनोट जुरी समुहले गर्ने पोस्टरमा उल्लेख छ ।
डिजाइन इमेलमा डिसेम्बर २५ सम्म पठाइसक्नुपर्नेछ तोकिएको छ । फिल्ममा फन्ट डिजाइन महत्त्वपूर्ण मानिन्छ । दर्शकलाई फिल्मप्रति आकर्षित गराउन पनि यसको भूमिका रहन्छ । त्यसैले फन्ड डिजाइनमा मेकरहरुले ध्यान दिने गरेका छन् । यसका लागि प्रतियोगिता नै घोषणा गर्दा अवसरको खोजीमा रहेकालाई ठूलो हौसला मिल्छ ।
हेमराज विसीको निर्देशनमा बन्न लागेको ‘जेरी २’मा अभिनेता अनमोल केसी अनुबन्ध भइसकेका छन् । फिल्ममा पूर्णिका सिजापति पनि फाइनल भइसकेकी छन् भने अनमोलको अपोजिटमा अभिनेत्री आना शर्माको नाम चर्चामा छ । सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठको संयुक्त लगानीमा निर्माण हुने फिल्मको केही महिनादेखि स्क्रिप्ट लेखनसँगै तीव्र रुपमा प्रि-प्रोडक्सनको काम भइरहेको छ ।














