पृथ्वी राजमार्ग अझै अवरूद्ध, मर्मतको कार्य जारी
थानकोट ।
सोमबार दिउँसोबाट अवरूद्ध भएको पृथ्वी राजमार्ग सुचारू गर्ने प्रयास जारी रहेको छ ।
सो राजमार्ग अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सीमामा रहेको गणेश खोलाको मोटरेबल पुल भासिँदा सवारी आवगमन प्रभावित भइरहेको छ ।
सोमबारबाट भासिएको पुलमा नेपाली सेना, प्रहरी, स्थानीय तथा यात्रुको सहयोगमा ग्याभिन जाली भर्ने काम भइरहेको छ ।
धादिङका ट्राफिक प्रहरी प्रमुख उद्धव पोखरेलका अनुसार यातायात सेवा सञ्चालन हुन अझै ५-६ घन्टा लाग्न सक्ने सम्भावना रहेको छ ।
पुल भासिएर यातायात ठप्प भएपछि केही साना सवारी फर्किएका छन् भने केहीले अस्थायी रुट प्रयोग गरिरहेका छन् ।
ठूला सवारी जाममा छन् ।
लामो जाम हुन नदिन मलेखु, गलौदी, गल्छीलगायत फराकिलो ठाउँमा सवारी रोकिएको पोखरेलले जानकारी दिए ।













