सचिवालय प्रमुखसहित ३ जना कर्मचारी निलम्बनमा परेपछि सामाजिक सञ्जालमा फेरि छाए मेयर बालेन

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ।

महानगरले मेयर बालेन शाहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई सोमबार निलम्बन गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बताए।

‘कार्यपालिकाको निर्णयविपरीत फरक व्यहोरा उल्लेख गरी उहाँहरूले स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारीलाई निरन्तरता दिने निर्णयमा प्रमाणीकरण गर्नुभयो,’ उनले भने, ‘सुरूमा कार्यापालिका निर्णयअनुसार नै गरे पनि पछि भने फरक व्यहोरा उल्लेख गरिएको पाइएको छ।’

कार्यपालिकाले गरेको निर्णय हेरफेर गरेको आरोपमा उनीहरूलाई निलम्बन गरिएको हो।

पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर त्यसमा वरिष्ठ शाखा अधिकृत बिडारीले नियतवश आफ्नो छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी छ जना बनाएको आरोप छ।

उक्त प्रबर्द्धन केन्द्र ‘द मान्डुस् फ्रान्स’ को आर्थिक सहयोगमा चलिरहेको थियो। सम्झौता अवधि सकिएपछि महानगरले सञ्चालन गर्ने भनेर कार्यपालिकाले निर्णय गरेको थियो।

मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले पनि अनियमितताबारे सचिवालयमा सूचना प्राप्त भएको बताए।

‘कार्यपालिकाको निर्णय नै तोडमोड गरेको सूचना पाएपछि के रहेछ भनेर बुझेका थियौं,’ उनले भने, ‘त्यसमा अनियमितता भएको पाइएपछि सम्बन्धित व्यक्तिहरूलाई निलम्बन गरी समिति गठन गरेर छानबिन गरिरहेको छ।’

प्रमुख प्रशाशकीय अधिकृत आफैं यस घटनामा संलग्न भएको पाइएपछि उनलाई छानबिन कार्य नसकुन्जेल मेयरले बिदामा बस्न भनेको सचिवालयका एक कर्मचारीले बताए।

यो घटनामा सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीको नेतृत्वमा उक्त छानबिन समिति गठन गरिएको छ। उक्त समितिमा कानुन सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन विभागका उपनिर्देशक  प्रवीण प्याकुरेल छन्।

छानबिन प्रतिवेदनको सुझावअनुसार उनीहरूमाथि कारबाही गरिने उनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ