बलम्बु नजिकै प्रहरीको भ्यानबाट खसेर एक प्रहरीको मृत्युु
थानकोट ।
रात्रीकालिन डिउटी सकेर कोठामा फर्किने क्रममा प्रहरीकै भ्यानबाट खसेर एक प्रहरीको मृत्यु भएको छ।
चन्द्रागिरि नगरपालिका सतुगंलस्थित बखुः खोला पुल नजिकै गएराती करिब सवा ११ बजेको समयमा प्रहरीको बा १ झ ७४१८ नम्बरको भ्यानबाट खसेर गम्भीर घाइते भएका प्रहरी प्रभाग बलम्बुमा कार्यरत प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको हो।
राति नै उपचारका क्रममा नेपाल एपिएफ अस्पताल बलम्बुमा उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उनको शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ।
भ्यानका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













