२०८१ सालमा ३४ दिन सार्वजनिक बिदा, ५३ दिन शनिबार, शहीद दिवस र पृथ्वी जयन्तीको बिदा थप
थानकोट ।
२०८१ सालमा ३४ दिन सार्वजनिक बिदा हुने भएको छ ।
गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको बिदा सूचीअनुसार २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्ममा २७ दिन पर्व बिदा र सात दिन दिवसकाे बिदा गरी ३४ दिन सार्वजनिक बिदा परेको हो ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार महिला कर्मचारीहरूका लागि हरितालिका तीज पर्व बिदा दिइएको छ ।
यस्तै जितिया मनाउने महिला कर्मचारीहरूले जितिया पर्वको बिदा पाउँछन् । शिक्षण संस्थाहरूमा वसन्त पञ्चमीमा थप बिदा हुन्छ । काठमाण्डौ उपत्यकामा विभिन्न जात्राका लागि थप चार दिन, गौरा पर्व मनाउने क्षेत्रमा एक दिन, सिरुवा पावनी पर्व मनाउने ठाउँमा एक दिन सार्वजनिक बिदा छ ।
यस्तै अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका दिन अपाङ्गता भएका कर्मचारीहरूले बिदा पाउँछन् ।
यस्तै आउँदो वर्ष वर्षभरिका शनिबार बिदा ५३ दिन परेको छ ।
राजपत्रमा प्रकाशित बिदा सरकारी तथा गैरसरकारी क्षेत्रका लागि लागू हुन्छ ।
विदेशमा रहेका नेपाली नियोगहरूले सम्बन्धित देशका सार्वजनिक बिदाहरूलाई समेत हेरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले व्यवस्थापन र समायोजन गर्न सक्छन् ।
जनयुद्ध दिवसको बिदा सर्वोच्च अदालतको आदेशसँगै यस वर्षदेखि नै बदर भएको थियो ।
अर्को वर्षका लागि शहीद दिवस र पृथ्वी जयन्तीको बिदा थप भएको छ ।













