भानुभक्त आचार्य, नेपाली भाषा एकीकरणका नायक
थानकोट ।
नेपाली साहित्यका अमर नक्षत्र भानु भक्त आचार्यको जन्म जयन्ती आज नेपाल र नेपाली भाषी रहेका मुलुकहरूमा विविध कार्यक्रम गरि मनाइँदैछ ।
भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँको रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो ।
बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे ।
२१० वर्षअघि उदाएका नेपाली वाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन् । मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे । उनको निधन वि सं. १९२५ असोज ६ गते तनहुँको सेतिघाटमा भयो ।
एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेका भानुभक्त आचार्यलाई नेपाल सरकारले राष्ट्रिय विभूतिको सम्मान दिएको छ ।
जसरी पृथ्वीनारायण शाहले टुक्रिएको नेपाललाई एकीकरण गरेर विशाल राष्ट्र बनाए त्यसरी नै कवि भानुभक्तले छरिएर रहेको नेपाली भाषालाई एकीकरण गरे। साहित्यका माध्यमबाट लोकहित गर्दै उनले सहज रूपमा समाज सुधारको सुरिलो स्वर सुसेल्दै आफ्ना भावना पस्किएका छन् । भानुभक्त नेपालमा मात्र नभई संसारभरका नेपाली भाषीबीच आदर्शका रूपमा स्थापित छन् ।













