चन्द्रागिरिसहित काठमाडाैं उपत्यकामा रातभर भारी वर्षा, कैंयन बस्ती डुबानमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रमा गए राति भारी वर्षा भएको छ, यस क्षेत्रमा अहिले बिहान समेत छिटपुट वर्षा भइरहेको छ ।

काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा गएरातिदेखि भारी वर्षा भइरहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार राति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएको हो ।

काठमाडाैं उपत्यकाका बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुखोला लगायत सबै नदीमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

वर्षापछि नदी किनारका क्षेत्र डुबानमा परेका छन् ।

खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ ।

डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ ।

बाढीबाट बल्खु, कीर्तिपुरको सुन्दरी घाट लगायतका क्षेत्र जलमग्न भएका छन् ।

कस्तो रहला दिनभरको माैसम ? 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।

बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा  मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा भारी देखि धेरै भारी  वर्षाको पनि सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *