चन्द्रागिरि नगरक्षेत्रमा बिहानैदेखि वर्षा
थानकोट ।
चन्द्रागिरि नगरक्षेत्रमा बुधबार बिहानैदेखि वर्षा जारी छ ।
जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुुसार देशका केही भू–भागमा बिहानैदेखि भारी वर्षा भइरेको छ ।
देशभर आंशिकदेखि साधारणतया बदली रहँदा केही स्थानमा भारी वर्षा भइरहेको हो ।
बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
पर्साको रङ्गापुर, टांडी बजार, बाराको सिमरा, पर्वानिपुर, कलैया, अमलेखगंज र आसपास भारी वर्षा भएको छ ।
मकवानपुरको हात्तीसुडे, भोर्लेनी, रौतहटको चन्द्रपुर, गरुडा, सर्लाहीको मानुसमारा, सिन्धुलीको कुसुमटार, रानीचुरी वर्षामापन केन्द्रहरू र आसपासमा भारी वर्षा भएको छ ।
महाशाखाले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोेसी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ रहेको महाशाखाले जनाएको छ ।













