उद्धारकर्ता चणिकलाललाई डेढ लाख नगदसहित सम्मान गर्ने बागमतीका मुख्यमन्त्री लामाको घोषणा
थानकोट ।
बागमती प्रदेश सरकारले ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई नगद डेढ लाख रूपैयाँ नगदसहित सम्मान गर्ने भएको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए ।
काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ वर्षीया मेघना साह र राजुका भाइ २२ वर्षीय राज साहको उद्दार गरेका थिए ।
तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यावाद दिएको बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारले नगदसहित सम्मान गर्न लागेको जानकारी तामाङलाई गराइएको जानकारी दिए।
विपद् प्रतिकार्यमा तामाङले खेलेको भुमिकाले नागरिक स्तरमा समाजसेवी भावना जागृत गरेको बताउँदै मुख्यमन्त्री लामाले सामाजिक कामका लागि सम्मान गर्न लागिएको जानकारी दिए ।

















