कलंकीदेखि नागढुङ्गासम्म सवारीसाधनको लाम, पिपलामोडमा ट्रक बिग्रिएपछि अर्को झमेला

Thankot Times

थानकोट ।

सोमबार साँझबाट नै कलंकी-नागढुङ्गा सडक खण्डमा सवारी साधनको लाम लागेको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मलेखुमा सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि काठमाडाैंबाट बाहिरिने सवारीसाधन नागढुङ्गा नाकामा रोकिएको छ ।

झ्याप्ले खोलामा पहिरो पन्छाएसँगै सहज उन्मुख रहेको राजमार्ग सञ्चालन मलेखुको पहिरोले प्रभावित भएको छ । सडक सुचारु भएसँगै सोमबार साँझ गोंगबु लगायतका स्थानबाट छुटेका रात्री बस तथा अन्य सवारीसाधन साँझबाटै जाममा फसेपछि ती सवारीसाधनमा सवार यात्रुहरू अलपत्र परेका छन् । केही सवारीसाधनहरू भने पुनः गोंगबु नै फर्काइएको यात्रुहरूले बताए ।

यसैगरी पिपलामोड क्षेत्रमा मालबाहक ट्रक बिग्रिएपछि सो ट्रक पन्छाउने प्रयास भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

सो ट्रक पन्छाएपछि यातायात सुचारु गरिने प्रहरीको भनाइ छ ।

मुख्य राजमार्गमा काठमाडाैंबाट बाहिरिने सवारीसाधनको लाम लागेपछि चन्द्रागिरि नगर क्षेत्रमा यातायात सञ्चालन अस्तव्यस्त बनेको छ।

अहिले बिहानी सत्रको अध्ययन अध्यापनका लागि विद्यालय तथा क्याम्पस पुग्ने विद्यार्थीहरू चोकचोकमा यातायात कुरेर बसेको देख्न सकिन्छ भने केही विद्यालयहरूले सवारीसाधनको लाम लामो लागेकोले विद्यार्थी बोक्न सवारीसाधन पठाउन नसकिने सूचना जारी गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *