बडा दशैंः यस वर्ष टीका जमरा लगाउने आज अन्तिम दिन, पूर्णिमा व्रत भोलि
थानकोट ।
नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ ।
सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने भोलि कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए । यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो ।
यस वर्ष आज अखिल बलिपूर्ति र कोजाग्रत पूर्णिमा तथा कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग)मा उल्लेख छ ।

















