डडेल्धुरामा यात्रु बस दुर्घटना, चार जनाको मृत्यु, १२ जना घाइते
थानकोट ।
महाकाली राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका-७ कस्या नजिक रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
मङ्गलबार राति कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको ना. ८ ख १०७८ नम्बरको बस दुर्घटना हुँदा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका-३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार घाइतेको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ ।
घाइते तथा मृतकहरूको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
तस्बिरः पुष्कर भण्डारी

















