चोभारस्थित आदिनाथ मन्दिरमा एक महिने मेला सुरु

Thankot Times

थानकोट ।

चोभारडाँडास्थित आदिनाथ मन्दिरमा एक महिने मेला आजदेखि सुरु भएको छ।

प्रत्येक वर्ष आश्विन शुक्ल कोजाग्रत पूर्णिमाका दिन सुरु हुने मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ।

उक्त मेलामा काठमाडौँ उपत्यका तथा आसपासबाट भक्तजन सहभागी हुने गर्दछन्।
यस मेलामा सहभागी भएमा भक्तजन भय, रोग र बिघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।

मेला अवधिभर मन्दिरमा दर्शन गरे रोगव्याधि तथा छालासम्बन्धी रोग नलाग्ने किंवदन्ती पनि पाइन्छ। लिच्छवीकालीन राजा अंशुवर्माले स्थापना गरेको यो मन्दिर ऐतिहासिक र पुरातात्विक महत्वको छ।

मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिविम्बित मूर्ति राखिएका छन्, जसलाई अर्धनारेश्वर आदिनाथ भनिन्छ। मन्दिरमा हिन्दू र बौद्ध अनुयायीले साझा मन्दिरका रुपमा आस्था प्रकट गर्ने गर्दछन् ।

हिन्दू धर्मावलम्बीले शिव शक्तिका रुपमा तथा बौद्ध धर्मावलम्बीले आनन्दादी लोकेश्वरका रुपमा आदिनाथलाई पूजा गर्ने गर्दछन्।

बौद्ध धर्मावलम्बीले करुणाका प्रतीकका रुपमा र हिन्दू धर्मावलम्बीले आदिनाथका रूपमा देवतालाई सम्मान तथा पूजा गर्ने चलन छ। लोकेश्वरको ध्यान गरेमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धनसम्पत्ति प्राप्त हुने बौद्धमार्गीहरुको विश्वास छ।

हिन्दू तथा बौद्ध अनुयायीको साझा संस्कृतिका रुपमा रहेको उक्त मन्दिरसँग दुवै धर्मका भक्तजनको अन्योन्यास्रित सम्बन्ध रहेको कीर्तिपुरका स्थानीयहरुको भनाइ छ।
मन्दिरमा सप्त सत्वपूजा गरी पताका, ध्वजा, विभिन्न भाँडाकुँडा, गरगहना पहिल्यैदेखि चढाउने गरेको पाइन्छ।

स्थानीय व्यवसायी कन्हैया कुँवरका अनुसार मेला अवधिभर प्रत्येक दिन विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजनकीर्तन तथा पूजा हुने गर्दछ। काठमाडौँबाट करिब नौ किलोमिटर दक्षिणतर्फ अवस्थित उक्त मन्दिरमा विसं २०७२ को भूकम्प तथा परकम्पनका कारण क्षति पुगेकाले संरचना मर्मत तथा जीर्णोद्धार गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *