पोखरामा हार्वर्ड खुल्ला स्क्राबल च्याम्पियनशिप सुरु, १०२ जना विद्यार्थीको सहभागिता
थानकोट ।
पोखरामा शनिबारबाट खुल्ला स्क्राबल च्याम्पियनशिप सुरु भएको छ।
हार्वर्ड एकेडेमीमा सञ्चालन भइरहको २ दिने प्रतियोगितामा १०२ जनाले सहभागिता जनाएका छन्।
च्याम्पियनशीपको पहिलो दिन १० चरणका खेलहरू सम्पन्न भएको बताइएको छ। यसअघि गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले च्याम्पियनशिपको उद्घाटन गरेका थिए ।
सो क्रममा बोल्दै मन्त्री पौडेलले यस्तो प्रकारका खेलकुदले विद्यार्थीहरूको मानसिक क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गर्ने बताए।
कार्यक्रममा देशभरका ११ जिल्लाबाट १०२जना विद्यार्थीको सहभागिता रहेको छ।
च्याम्पियनशीपका प्राविधिक संयोजक अर्जुन पाण्डेका अनुसार आज आइतबार बाँकी ६ चरणका खेलहरू हुनेछन् ।
सो पछि अन्तिम नतिजा सार्वजनिक गरिनेछ।
कार्यक्रम संयोजक नवीन पन्तले विद्यार्थीहरूको बसोबास र खानपानको व्यवस्था विद्यालयले आवासीय र गैर-आवासीय रूपमा गरिरहेको जानकारी दिए।
प्रतियोगिताले विद्यार्थीहरूबीच प्रतिस्पर्धात्मक भावना, नयाँ अनुभव, र शैक्षिक विकासमा ठूलो टेवा पुर्याउने विश्वास गरिएको छ ।
















