स्कुटर चोरीमा संलग्न २५ वर्षीय युवा पक्राउ
थानकोट ।
काठमाडौँको तारकेश्वर नगरपालिका ४ माछापुच्छ्रे चोकबाट सोमबार स्कुटर चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
दोलखाको मेलुङ गाउँपालिका ४ घर भई हाल काठमाडौँको बालाजु बस्ने २५ वर्षीय कुशाङ गोले तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
बागमती प्रदेश ०२-०४२ प ८३ ०७ नम्बरको स्कुटर काठमाडौँको तारकेश्वर नगरपालिका ४ माछापुच्छ्रे चोकमा चलाइराखेको अवस्थामा तामाङलाई ट्राफिक प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको थियो । उक्त स्कुटर काठमाडौँको टोखा नगरपालिका ५ शिव मन्दिरबाट हराएको भनी सिता पाण्डे भुसालले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएकी थिइन् ।
नियन्त्रणमा आएका तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जय बहादुर राउतले जानकारी दिए ।

















