जान्नुहोस् आज दिनभरको माैसम पूर्वानुमान
थानकोट ।
देशका केही स्थानमा आज आइतबार वर्षाको पूर्वानुमान छ ।
कोसी, बागमती र गण्डकी प्रदेशका हाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशमा हाल मुख्यतः पश्चिमी वायुको प्रभाव रहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । त्यसकै प्रभावले उक्त क्षेत्रमा हल्का वर्षा हुने उनले बताए ।
उक्त क्षेत्रका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको उनले जानकारी दिए ।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव सकिइसकेको उनले बताए । “मोन्थाको प्रभाव हिजै सकियो,” उनले भने, “अहिले पश्चिमी वायुकै प्रभाव हो ।”
अरबसागरमा बनेको न्यूनचापीय प्रणालीका कारण पनि नेपालमा वर्षा र हिमपात भएको थियो । त्यो प्रणाली समेत निकै कमजोर भइसकेको उनले जानकारी दिए ।
“त्यसको ठूलो प्रभाव छैन,” मौसमविद् झाले भने, “त्यो प्रणाली आफैँमा कमजोर भइसकेको छ । कतैकतै आर्द्रता भने आएको हुनसक्छ ।”
यस दिन राति यी प्रदेशका एक/दुई मात्र स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताए ।












