बिहीबार रातिको वर्षाले चन्द्रागिरि नगर क्षेत्रमा व्यापक क्षति, कतै घर बग्यो कतै मोटरसाइकल

Thankot Times

थानकोट ।

बिहीबार रातिको वर्षाले चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा व्यपाक क्षति पुर्याएको छ । चन्द्रागिरि नगरपालिका ३, ४, ७ र १२ मा वर्षापछिको बाढी पहिरोले बढी क्षति पुर्याएको हो ।

वर्षाका कारण चन्द्रागिरि ७ वाणस्थलीमा एक घरमा क्षति पुगेको बताइएको छ भने एउटा मोटरसाइकल बगाएको प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ । यहि वडा र चन्द्रागिरि ३ को सीमाना त्रिवेणी क्षेत्रमा पहिरो गएको बताइएको छ ।

यस्तै, चन्द्रागिरि ४ थानकोटस्थित पिम्फली खेलमैदान नजिकैको कलभर्ट बाढीले पुरेको छ भने सोही वडाको टेकानपुर तथा त्रिभुवन पार्क लगायतका क्षेत्रमा बाढी पसेको वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो। उहाँका अनुसार चन्द्रागिरि ४ र ७ को सीमामा रहेको त्रिभुवन पार्कको पूर्वी क्षेत्रको पर्खाल बाढीले भत्काएको छ ।

यस्तै, चन्द्रागिरि १२ बलम्बुमा निर्माणाधीन पुलमा क्षति पुगेकाे छ भने सोही वडाका केही उद्योगहरूमा बाढीले क्षति पुर्याएको बताइएको छ । वडाध्यक्ष न्हुच्छे बहादुर महर्जनका अनुसार बाढीले जुत्ता कारखाना, पाइप कारखाना र कृषि फार्महरूमा धेरै क्षति पुर्याएको र क्षतिको विवरण संकलन जारी रहेको बताइएको छ ।

बिहीबार रातिको वर्षाले नगर क्षेत्रमा के कति मात्रामा क्षति पुर्यायो त्यसको विवरण संकलन भइरहेको थानकोट प्रहरी वृत्तका प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेले थानकोट टाइम्सलाई जानकारी दिनुभयो । उहाँका अनुसार सो वर्षाका कारण मानवीय क्षति भने भएको छैन् ।

चन्द्रागिरि नगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाका अनुसार चन्द्रागिरि ७ स्थित वर्षाले क्षति पुर्याएको घरमा थप क्षति हुन नदिन तारजाली राख्ने काम भइरहेको छ भने अन्यत्र कुनै सहायता सामाग्री पठाउन परेमा सो तयारी अवस्थामा राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ