बलम्बुबाट कलंकीसम्म फ्लाइओभर बन्ने, लागत १३ अर्ब

Thankot Times

थानकोट ।

नागढुङ्गा-नाैबिसे सुरूङ मार्गबाट मुख्य राजमार्गमा प्रवेश गर्ने सवारी साधान सञ्चालनका लागि बलम्बुदेखि कलंकीसम्म फ्लाइओभर निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न जापानलाई प्रस्ताव गरिने भएको छ। नागढुंगा-नौबिसे सुरुङमार्ग संचालनमा आएपछि सवारी जामको समस्या बलम्बु-कलंकी हुने भएकाले फ्लाइओभर निर्माण गर्न लागिएको हो।

हाल सो सुरूङ मार्ग अन्तरगत पहुँच मार्ग प्रवेशका लागि चन्द्रागिरि ५ दुरसञ्चार क्षेत्रमा फ्लाइओभर निर्माणका लागि संरचनाहरू हटाउने कार्य भइरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई सम्भाव्यता अध्ययनका लागि जापानलाई नै दिनु उपयुक्त हुने ब्रिफिङ गरेको थियो। फ्लाइओभरको अध्ययन गर्न अहिले सुरुङमार्ग निर्माण गरिरहेको जापानी कम्पनीलाई प्रस्ताव गरिने मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले जानकारी दिए।

‘हामीले जापानी कम्पनीलाई सम्भाव्यता अध्ययनका लागि प्रस्ताव गर्दैछौं,’ उनले भने।

नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाले फ्लाइओभरको सानो सर्भे गरेको थियो। उक्त आयोजनाले गरेको सर्भे अनुसार बलम्बुदेखि कलंकीबीचको दुरी करिब ५ किलोमिटर छ। जसमा ४ किलोमिटर फ्लाइओभर बनाए पुग्छ। आयोजनाका अनुसार बीचबीचमा एक किलोमिटर सडक विस्तार गर्न उपयुक्त हुनेछ। आयोजनाले अहिले भइरहेको सडकमाथि नै फ्लाइओभर निर्माण गर्न सकिने अध्यययनमा थियो।

आयोजनाका पूर्व प्रमुख नरेशमान शाक्यले फ्लाइओभर निर्माणको अवधारणा अघि सारेका थिए। शाक्यको पालामा यसको प्रारम्भिक सम्भाव्यता अध्ययन अगाडि बढाउन प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार सो योजनालाई भौतिक र अर्थमन्त्रालयमा पठाइएको थियो।

यो खण्डमा फ्लाइओभर निर्माणका लागि करिब १३ अर्ब रुपैयाँ लाग्ने र तीन वर्षमा तयार हुने अनुमान छ। अहिले आयोजनाले बलम्बुको जग्गा अधिग्रहण गर्दा ५२ लाख रुपैयाँ प्रति आना तिर्नुपरेको छ। अब जग्गा अधिग्रहण गर्दा प्रति आना ६० लाख रुपैयाँसम्म पर्ने अवस्था छ, बिजमाण्डूमा खबर छ। ३० लाख रुपैयाँ मिटरमै फ्लाइओभर निर्माण गर्न सकिने शाक्यले गरेको सर्भेले देखाएको थियो।

सडक विस्तार गर्दा जग्गा अधिग्रहण र मुआब्जामै अल्मलिने भन्दै फ्लाइओभर निर्माणको योजना अघि सारिएको नेपालको भनाइ छ। सम्भाब्यता अध्ययनको प्रतिवेदन आएपछि निर्माणको प्रक्रिया अगाडि बढ्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ