‘बःखुस्थित सरस्वतीको प्रस्तर मुर्ति स्वदेश फर्काउन पहल सुरू’- नगरप्रमुख गिरी
थानकोट ।
चार दशकअघि चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रबाट हराएको लिच्छवीकालिन सम्पदा सरस्वतीको मुर्ति स्वदेश फर्काउन पहल सुरू गरिएको छ ।
ढुङ्गाबाट बनेको सो मुर्ति संयुक्त राज्य अमेरिकामा रहेको समाचार शुक्रबार थानकोट टाइम्समा प्रकाशित भएपछि मुर्ति फिर्ता ल्याउने अभियानका लागि आवश्यक पत्राचारका लागि छलफल कार्य सुरू गरिएको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले बताउनुभयो ।
तीनथाना विष्णुदेवी परिसरबाट हराएको ८औँ शताब्दीतिरको सरस्वतीको मूर्ति अमेरिकामा !
नगरप्रमुख गिरीले सो मुर्ति स्वदेश फिर्ताका लागि नेपालस्थित पुरातत्व विभाग तथा अमेरिकास्थित नेपाली राजदुतावाससँग आवश्यक सहकार्यका लागि नगरपालिकाले कार्य अघि बढाइसकेको जानकारी दिनुभयो ।
वि.सं. २०३७ ताका सो मुर्ति चन्द्रागिरि नगरपालिका तीनथानास्थित विष्णुदेवी मन्दिर परिसर बाहिरको गोलोकेश्वर मन्दिर हाताबाट हराएको थियो । जुन मुर्तिको खुट्टाका अवशेष अझैपनि सो क्षेत्रमा रहेका छन् ।
नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचान गरी नेपाल फर्काउन पहल गर्दै आएको लस्ट आर्टस अफ नेपाल अभियानले सो मुर्ति अमेरिकी नागरिक रोबर्ट ह्याटफिल्ड एल्सवर्थको नीजि संग्रहमा रहेको जानकारी शुक्रबार साँझ सामाजिक सञ्जालमा पोष्ट भएपछि उक्त मुर्ति चर्चा पुनः चुलिएको छ ।
७ औं वा ८औं शताब्दीमा बनेको विश्वास लिएको सो मुर्ति १ सय ३० सेन्टीमिटर अग्लो थियो भने मुर्ति टाउको विहिन अवस्थामा अमेरिकामा फेला परेको छ । हाल फेला परेको मुर्तिको उचाइ ९१.५ सेन्टीमिटर रहेको छ ।
स्थानीय अगुवा देवेन्द्रराज थापाले मुर्तिको शीर र शरिरको अन्य भाग फरक फरक शिलाको भएको हूँदा मुर्ति पहिलेबाट नै दुई टुक्रा देख्ने गरेको बताउनुभयो ।
यो मूर्ति सम्पदाको तस्बिर अस्ट्रियन वास्तुविद् कार्ल प्रुस्चको पुस्तक काठमाडाैं भ्याली भोल्युम २ तथा स्वीस अध्येता उल्रिच भोन स्क्रोडरको ‘नेप्लिज स्टोन स्कल्प्चर्स, भोल्युम १ को पृष्ठ २२४ मा पनि विवरणसहित प्रकाशित भएको छ ।

सो मुर्ति निकाल्ने क्रममा भाँचिएको खुट्टाको भाग भने सोही अवस्थमा अहिले पनि विष्णुदेवी मन्दिर क्षेत्रमा छ र सो मुर्ति भएको स्थानमा नयाँ मुर्ति प्रतिस्थापन गरिएको छ जहाँ विशेषगरी श्रीपञ्चमीका दिन पूजा अर्चना हुने गरेको छ ।

विष्णुदेवी क्षेत्रको सरस्वती मन्दिरमा श्रद्धालुहरूको भीड
तीनथाना विष्णुदेवी क्षेत्रको सो सरस्वती मूर्तिका संकलक एल्सबर्थको करिब १ दशक अघि नै मृत्यु भइसकेको छ उनले कहाँबाट कसरी सो अमुर्त सम्पदा हात पारे भन्ने उल्लेख भएको छैन् ।
अमेरिकामा फेला परेको सो मुर्तिको फोटो २० वर्षअघि सन् २००३ मा प्रकाशित प्रदर्शनीको क्याटलगमा “डेभिन प्रेजेन्स: आर्ट्स अफ इन्डिया र हिमालयज” शीर्षकमा समावेश भएको पनि लस्ट आर्टस अफ नेपाल अभियानले जनाएको छ ।












