कार्यसम्पादनका आधारमा चन्द्रागिरिका वडाहरूको वर्गीकरण, बजेट सिलिङ्ग कुन वडाको कति ?
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि वडागत रूपमा बजेट विनियोजनका लागि सबै वडाहरूको वर्गीकरण गरेको छ ।
विभिन्न ७ वटा सूचकहरूमा वडाहरूले पाएको अंकका आधारमा सो वर्गीकरण गरिएको नगरले जनाएको छ। सोही वर्गीकरणका अनुसार आउँदो आर्थिक वर्षका लागि बजेटको सिलिङ्ग तोकिएको छ ।
जनसंख्या, भाैगोलिक क्षेत्रफल, वर्ष भरिको राजश्व संकलन, गरिबीको अवस्था, भाैतिक संरचनाको अवस्था, खर्च पारदर्शीता र समुदायको लगानीका आधारमा सो वर्गीकरण गरिएको प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।
प्रवक्ता खड्गीका अनुसार ए प्लस श्रेणीमा वर्गीकरण हुने वडाहरूमा चन्द्रागिरि १, ३, ८,११, १२ र १५ रहेका छन् । ए श्रेणीमा वर्गीकरण हुने वडाहरूमा ५, ६, ७, ९, १० र १४ रहेका छन् । चन्द्रागिरि २, ४ र १३ बी श्रेणीको वर्गीकरणमा परेका छन् ।
आगामी आर्थिक वर्षका लागि चन्द्रागिरि नगरका ए प्लस श्रेणी वर्गीकरणमा परेका वडाहरूले अधिकतम १ करोड ५० लाख, ए श्रेणी वर्गीकरणमा परेका वडाहरूले अधिकतम १ करोड ४० लाख र बी श्रेणी वर्गीकरणमा परेका वडाहरूले अधिकतम १ करोड ३० लाख रूपैयाँसम्मको बजेट सिलिङ्ग पाएका छन् ।
चालु तर्फको बजेटमा हरेक वडाहरूले खेलकुद, स्वास्थ्य, अभियानात्मक, प्रवर्द्धनात्मक तथा विविध भैपरी आउने कार्यक्रमहरूमा खर्च गर्न सक्ने जनाइएको छ ।
नगरपालिकाले आइतबार बसेको बाह्राैं नगरसभामा आगामी वर्षका लागि दुई अर्ब आठ करोड ३२ लाख ७७ हजारको बजेट ल्याएको छ ।














