चन्द्रागिरि-चितवन एक्सप्रेस-वे बनाउन २ खर्ब २१ अर्ब लागत, काठमाडौंबाट ५७ मिनेटमै चितवन !

Thankot Times

थानकोट ।

डकमार्ग हुँदै काठमाडौंबाट चितवन पुग्न करिब ४ घण्टा लाग्छ। सडक करिब १ सय ४० किलोमिटर लामो हो। चितवन जाने समय कम गर्न वैकल्पिक सडक प्रस्ताव गरिएको छ।

लगानी बोर्डको अध्ययनले चन्द्रागिरि-चित्लाङ-पालुङ हुँदै चितवन एक घण्टाभन्दा कम समयमै जाने सडक बनाउन सम्भव रहेको देखाएको छ। एक्सप्रेस वेका नाममा निर्माणका लागि प्रस्ताव गरिएको यो सडक अहिलेको भन्दा करिब ४५ किलोमिटर छोटो हो।

९६.५ किलोमिटर लामो एक्सप्रेस वे निर्माण भए चितवन ५७ मिनेटमै पुगिनेछ। तर सडक निर्माणमा भने निकै खर्च हुने देखिएको छ। लगानी बोर्डले गरेको अध्ययनले यो सडक बनाउन २ खर्ब २१ अर्ब १२ करोड रुपैयाँ लाग्ने देखाएको छ।

बोर्डको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार एक्सप्रेस वे निर्माणका लागि प्रतिकिलोमिटर २ अर्ब २९ करोड १३ लाख रुपैयाँ खर्चनुपर्छ। निर्माण गरिए यो नेपालमा अहिलेसम्मकै महँगो सडक हुनेछ।

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत चन्द्रागिरि-चितवन एक्सप्रेस वे निर्माण गर्ने घोषणा गरेको थियो। त्यतिबेला अर्थमन्त्री जनार्दन शर्मा थिए। उनले बजेटमार्फत एक घण्टामै चितवन पुग्ने गरी एक्सप्रेस वे निर्माण गरिने बताएका थिए।

अर्थमन्त्री शर्मा भए पनि यो घोषणा भने राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. विश्व पौडेलको चाहनामा गरिएको हो। पौडेलले त्यतिखेर चितवनलाई आधार बनाएर राजनीति गर्न चाहेकाले यो कार्यक्रम राख्‍न लगाएका हुन्। नभन्दै पौडेलले २०७९ मंसिरमा भएको निर्वाचनमा योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चितवन-१ बाट प्रतिस्पर्धा गरे पनि। तर उनी पराजित भए।

बजेटमा समावेश गरिएका कारण लगानी बोर्डले पूर्वसम्भाव्यता अध्ययन गरेको हो। अध्ययनले लागत महँगो भएपनि चन्द्रागिरि-चितवन एक्सप्रेस वे निर्माण सम्भव रहेको देखाएको छ।

नेपालमा अहिलेसम्म एक्सप्रेस वे निर्माण गरिएको छैन। सरकारले विभिन्न राजमार्गलाई एक्सप्रेस वे बनाउने भनेपनि कार्यान्वयन गरिएको छैन्।

नेपाली सेनाले काठमाडौं-तराई फास्ट ट्रयाक निर्माण गरिरहेको छ। करिब ७१ किलोमिटर लामो फास्ट ट्रयाक निर्माणमा २ खर्ब ११ अर्ब रुपैयाँ लाग्ने अनुमान छ।

लगानी बोर्डको अध्ययन अनुसार एक्सप्रेस वेमा २९.८ किलोमिटर सुरुङ मार्ग निर्माण गर्नुपर्नेछ। तर सुरुङ मार्ग कतिवटा बनाउनुपर्छ भन्ने यकिन भएको छैन। बोर्डले विस्तृत अध्ययनपछि मात्रै निर्माण गर्नुपर्ने सुरुङ मार्गको संख्या टुंगो लाग्ने बताएको छ।

यसबाहेक एक्सप्रेस वेमा विभिन्न प्रकृतिका पुल निर्माण गर्नुपर्नेछ। अध्ययन अनुसार पुलको लम्बाइ ९.५३० किलोमिटर हो। फास्ट ट्रयाकमा पनि झण्डै १० किलोमिटर पुल बनाउने भनिएको छ।

त्यस्तै एक्सप्रेस वेमा साना/ठूला ५६ वटा कल्भर्ट बनाउनु पर्नेछ। चार लेनको एक्सप्रेस वेमा हरेक लेन ३.५ मिटरका हुनेछन्। प्रतिघण्टा ८० देखि १२० किलोमिटरको गतिमा एक्सप्रेस वेको डिजाइन गर्नुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ।

नेपालमा अहिलेसम्म यति धेरै गतिमा दौडाउन मिल्ने एउटै सडक छैन्। निर्माणाधीन काठमाडौं-निजगढ फाष्ट ट्रयाकमा समेत यात्रा अवधि करिब एक घण्टाको हुने भनिएको छ।

२५ वर्षमा लगानी उठाउने

बजेटमा एक्सप्रेस वे सार्वजनिक निजी साझेदारीमा बनाउने बनाउने भनिएको थियो। बोर्डले सार्वजनिक निजी साझेदारीमा निर्माण गरिएको अवस्थामा लगानी उठाउन २५ वर्ष लाग्ने बताएको छ।

सञ्चालनमा आएको पहिलो वर्ष १२ अर्ब ५४ करोड रुपैयाँ आम्दानी गर्न सकिने बोर्डको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख छ। लगानी उठाउनका लागि हेभी ट्रक, मिडियम ट्रक, लाइट ट्रक, बस, मिनिबस, माइक्रोबस र कारका लागि छुट्टा छुट्टै शुल्क लगाउन प्रस्ताव गरिएको छ।

दोस्रो वर्ष १३ अर्ब ८६ करोड, तेस्रो वर्ष १५ अर्ब ३० करोड, चौथो वर्ष १६ अर्ब ९१ करोड, पाँचौं वर्ष ११ अर्ब ३ करोड, छैटौं वर्ष २१ अर्ब ४२ करोड रुपैयाँ उठाउन सकिने बोर्डले जनाएको छ। २५ वर्षमा २ खर्ब ८७ अर्ब १५ करोड रुपैयाँ उठाउन सकिने बोर्डको अध्ययनको निष्कर्ष छ।

एक्सप्रेस वे निर्माण गरिए यसबाट रोजगारीका अवसर सिर्जना हुने, कृषि उत्पादनले बजार पाउने, आर्थिक गतिविधि बढ्ने तथा सामाजिकरुपमा पनि निकै फाइदा पुग्ने छ। तर रोजगारी कति सिर्जना हुन्छ भन्नेचाहिं खुलाइएको छैन्।- बीजमाण्डूबाट

प्रतिकात्मक तस्बिर


2 thoughts on “चन्द्रागिरि-चितवन एक्सप्रेस-वे बनाउन २ खर्ब २१ अर्ब लागत, काठमाडौंबाट ५७ मिनेटमै चितवन !

  1. यो भन्दा त ठूला नदीहरुलाई डाईभर्सन सम्पूर्ण खेती योग्य जमिनमा सिंचाई पुर्याउनु पर्छ

    यो भन्दा त नेपालका सबै ठूला नदीहरुलाई डाईभर्सन गरी तराई–मधेसका सम्पूर्ण खेती योग्य जमिनमा सिंचाई पुर्याउनु पर्छ । कमसेकम आफनै देशको उब्जाउ जमिन धान, गहुं, अन्नअनाज, तरकारी खेती गरी आफनै देशको उत्पादन त खान पाईन्छ । यो नदी डाईभर्सन गर्दा विभिन्न सुख्खा नदीहरुमा जलभरणपूरण गरी माछा पालन, जलचर वृद्धि, तराइ, चुरे–भावरमा खानेपानीको आपूर्ति, तराईको उखरमाउलो गर्मीमा चिस्यान, शितलताको वृद्धि गर्न सकिन्छ । साथै कयौ ठाउंमा विजुली पनि निकाल्न सकिन्छ । अहिले सुनकोशी–मरिन नदी डाईभर्सन र भेरी –बबई नदी डाईभर्सनबाट यही फाईदाहरु लिन लागिएको छ । एक्सप्रेस वे बनाउनु बेठिक त होईन तर अहिलेको तत्कालको आवश्यकता यो होईन है । अहिले नै यस्ता योजना ल्याउनु भनेको भ्रष्टाचार गरी नेपाल सिद्धयाउनु हो भने बुझौ ।

    1. यो भन्दा खेती योग्य जग्गाहरूमा १२ रै मासे सिञ्चाईको ब्यबस्था गरे हुन्छ । नेपाल आफैले गर्न सक्छ । गरे सम्भब छ ।

Leave a Reply to vola mahato Cancel reply

Your email address will not be published. Required fields are marked *