६ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गर्दै महानगर प्रमुख बालेन लेख्छन्- ‘गलत भए मलाई जेल हाल’

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँ टावर परियोजनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकारको रवैयामाथि कडा प्रश्न उठाएका छन्। उनले फेसबुकमार्फत उक्त प्रतिवेदन सार्वजनिक गर्दै लेखेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने। माथिको कुरा गलत भए मलाई जेल हाल’

उनको यो भनाइले काठमाडौँ टावर परियोजनासँग जोडिएको अनियमितता, प्रशासनिक कमजोरी र सरकारको भूमिकाप्रति असन्तुष्टि प्रकट गरेको देखिन्छ।

काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कमा निर्माण गर्न लागेको काठमाडौँ टावर सम्झौताअनुसार पाँच वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि निर्धारित समय सीमाभित्र काम नसकिएपछि परियोजना विवादमा परेको हो।

काठमाडौँ महानगरपालिकाले उक्त परियोजनासम्बन्धी छानबिनका लागि समिति गठन गरेको थियो। समितिले थप अनुसन्धानका लागि म्याद थप्न निवेदन दिएको थियो। तर, मेयर साहले २०८१ फागुन १८ गते समितिको म्याद थप नगर्ने निर्णय गर्दै सार्वजनिक निर्माण विभाग, कानुन विभाग र शहरी व्यवस्थापन विभागलाई आवश्यक अध्ययन गरी संयुक्त राय पेश गर्न निर्देशन दिएका थिए।

उनको यो अभिव्यक्तिले काठमाडौँ टावर परियोजनासँग सम्बन्धित विवादलाई थप चर्काएको छ। अब सरकार र सम्बन्धित निकायले यसबारे के कदम चाल्छन् भन्ने विषय चासोको केन्द्र बनेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *