चन्द्रागिरिमा अनुमतिबिनै ग्लुकोज प्याकेजिङ उद्योग सञ्चालन गरेको भेटिएपछि….

Thankot Times

थानकोट ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुमतिबिनै सञ्चालनमा रहेको एलजी ग्लुकोज प्याकेजिङमाथि कारबाही गरेको छ ।

विभागले कारबाहीस्वरुप एलजी ग्लुकोज प्याकेजिङमा रोक लगाएको छ ।

यही माघ २५ गते परेको उजुरीका आधारमा विभागले र्‍यापिड रिस्पोन्स मोडालिटीअन्तर्गत गरेको अनुगमन तथा निरीक्षणका क्रममा उक्त कारबाही गरेको जनाएको छ ।

‘अनुगमनका क्रममा एउटा कोठामा ग्लुकोज प्याकेजिङ भइरहेको फेला परेको थियो,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता डा. बालकुमारी शर्माले भनिन्, ‘नमूना समेत संकलन गरेर परीक्षण हुँदैछ । तत्कालको लागि उक्त ग्लुकोज बिक्री वितरण नगर्न निर्देशनसहित रोक्का राखिएको छ ।’

शर्माका अनुसार चन्द्रागिरि नगरपालिकास्थित एलजी ग्लुकोज प्याकेजिङ नामबाट ग्लुकोज प्याक हुँदै आएको थियो ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अनुमतिपत्र नलिई उत्पादन भएको ग्लुकोज सोही ऐनको दफा(३५) बमोजिम बिक्री वितरण नगर्ने निर्देशनसहित ४ सय केजी रोक्का राखिएको छ । साथै, प्रयोगशाला परीक्षणका लागि समेत विभागले ग्लुकोज लगेको छ । विभागले बजारमा अनुमतिविनै उत्पादन तथा बिक्री वितरण गर्ने गतिविधिविरुद्ध अनुगमनलाई थप तिव्र पारेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *