वरिष्ठ पत्रकार ‘कमल बा’ काे निधन
थानकोट ।
लेखक तथा कूटनीतिज्ञ कमलप्रसाद कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ।
पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका सुपुत्र कोइरालाको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा आइतबार राति निधन भएको हो। ।
कोइरालालाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो।
विक्रम संवत् १९९५ वैशाखमा विराटनगरमा जन्मिएका कोइराला एक प्रखर लेखक तथा राजनीतिज्ञका रूपमा चिनिन्छन्। नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका कोइराला परिवारमा जन्मिएर पनि वामपन्थी विचार बोक्ने कोइरालाले राजनीतिमा जेलनेल र कठोर दिन व्यतीत गर्नुभएको थियो ।
पत्रकार किशोर श्रेष्ठका अनुसार केही दिनअघि घरमै लडेर अचेत भएका थिए।
कोइरालालाई तत्कालै अस्पताल लगिएको थियो । उपचारकै क्रमममा आइतबार राति ९ बजे कोइरालाको निधन भएको हो। छापा पत्रकारितामा लामो समय सक्रिय वरिष्ठ पत्रकार कोइरालाले २०४७ सालपछि दृष्टि साप्ताहिकको प्रधान सम्पादकका रूपमा काम गरेका थिए। त्यस समय विचारका हिसाबले ‘दृष्टि साप्ताहिक’ नेकपा (एमाले) निकट छापा माध्यम थियो । उहाँले लामो समय ‘साँघु साप्ताहिक’ मा स्तम्भ लेखनको कामसमेत गर्नुभएको थियो ।
२०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ जिल्लाबाट निर्वाचित भएका कोइरालाले दक्षिण कोरियाका लागि नेपाली राजदूतका रूपमा तीन वर्ष कूटनीतिक सेवासमेत गरेका थिए। सरल, मृदुभाषी र हास्यचेतसमेत राख्ने कोइरालाले एक सिद्धहस्त लेखक, पत्रकार, राजनीतिकर्मी र कूटनीतिक व्यक्तित्वका रूपमा योगदान गर्नुभएको थियो ।
स्वर्गीय कोइरालाका एक छोरा र एक छोरी छ्न्।


















