चन्द्रागिरि साकोसको सेवा केन्द्र गोदावरी नगरमापनि विस्तार, पहिलो दिन ७० जनाले लिए सदस्यता
थानकोट ।
चन्द्रागिरि नगरपालिका-७ थानकोटमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले ललितपुरको गोदावरी नगरपालिका वडा नं. १४ ठैबमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
सो सेवा केन्द्रको शनिबार (वैशाख ६ गते) उद्घाटन गरिएको हो ।
ललितपुरको पुल्चोकस्थित पाटन बहुउद्देश्यीय सहकारी संस्था लि. र चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. बीच एकीकरण प्रकृया सम्पन्न भई पाटन सेवा केन्द्र गोदावरी नगरपालिका वडा नं. १४ ठैबमा सञ्चालन गरिएको संस्थाका अध्यक्ष शिव शङ्कर मानन्धरले जानकारी दिए ।
विश्व श्रम संगठनका बोर्ड सदस्य, नेपाल ट्रेडि यूनियनका अध्यक्ष एवं चन्द्रागिरि साकोसका सल्लाहकार योगेन्द्रकुमार कुँवरले साकोसको ठैव सेवा केन्द्रको उद्घाटन गरेका हुन् ।
सेवा केन्द्र उद्घाटनका अवसरमा ७० जनाले संस्थाको सदस्यता लिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताए ।
कार्यक्रमका प्रमुख अतिथि कुँवरले चन्द्रागिरि साकोसले सहकारी अभियानमा सकारात्मक सन्देश जाने गरी सदस्यहरुको सेवा व्यवस्थापन गरेकोमा आफू खुसी रहेको उल्लेख गर्दै सहकारी क्षेत्रको छवि सुधार गर्ने गरी साकोस अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष सानुराजा घिमिरे र १४ का अध्यक्ष निरोज बज्राचार्यले सहकारी अभियानमा चुनौती बढिरहेको समयमा समुदायमा उत्कृष्ट सेवा प्रवाह गर्दै आएको चन्द्रागिरि साकोसले ठैबबाट सेवा प्रवाह गरेकोमा खुशी व्यक्त गरे।
सेवा केन्द्र उद्घाटनका क्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले संस्थाको संक्षिप्त परिचय, वस्तु तथा सेवा र भावी योजनाको बारेमा प्रस्तुतीकरण राखेका थिए भने सञ्चालक तथा सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सदस्य राजेश महर्जनले चन्द्रागिरि साकोस र पाटन बहुउद्देश्यीय सहकारीको एकीकरण सम्बन्धी पृष्ठभूमीमा चर्चा गरेको बताइएको छ ।
संस्थाका अध्यक्ष शिवशङ्कर मानन्धरले चन्द्रागिरि साकोसमा २२ हजार जना सेयर सदस्य आवद्ध भएको उल्लेख गर्दै तीन अर्ब ६३ करोड कुल सम्पति रहेकाले गोदावरी नगरपालिका क्षेत्रमा सदस्यहरुलाई सन्तुष्टी हुने गरी सेवा प्रदान गरिने प्रतिबद्धता जनाएको संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल सो सहकारीको संस्थागत पूँजी कोषमा २१ करोड रहेको र ऋण लगानी २ अर्ब ३० करोड रहेको छ ।
संस्थाको २४औं स्थापना दिवसको अवसर पारेर सेवा केन्द्र उद्घाटन तथा सञ्चालनका साथै स्टार अस्पतालसँगको सहकार्यमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।
२०५७ साल पुस २२ गते साविक महादेवस्थान गाविस तथा त्यस आसपासका २५ जना व्यक्तिहरुको अग्रसरतामा स्थापित चन्द्रागिरि साकोसले २०५८ साल बैशाख ६ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएपछि बैशाख १३ गतेबाट औपचारिक कारोबार सुरु गरेको थियो ।
शहरी क्षेत्रमा पनि समुदायमा आधारित गुणस्तरीय, विश्वसनीय र सदस्यमैत्री सहकारी सञ्चालन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण चन्द्रागिरि साकोसले प्रस्तुत गर्न सफल भएको छ ।
चन्द्रागिरि साकोस हाल एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सञ्चालन गरेको एशियास्तरको एक्सेस ब्राण्डिङ कार्यक्रममा समेत आवद्ध भएको छ ।
ठैबमा सेवा केन्द्र स्थापना भएसँगै चन्द्रागिरि साकोसले मुख्यालयका साथै ७ सेवा केन्द्रबाट सेवा दिन सुरु गरेको छ ।
तस्वीरः चन्द्रागिरि साकोस












