चन्द्रागिरिस्थित एक डेरी उद्योगमा कैफियत भेटिएपछि…
थानकोट ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न उद्योग/फर्ममा अनुगमन गर्दा अनियमितता भेटिएको जनाएको छ।
विभागले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम केही उद्योग/फार्ममाथि कारबाही भएको छ ।
अनुगमनका क्रममा ललितपुर महानगरपालिका–१४ इमाडोलमा रहेको प्यासिफिक स्टोरलाई ४० हजार जरिवाना गरेको छ। यस्तै, सूर्यविनायक नगरपालिका–४ सल्लाघारीमा रहेको न्यु प्रकाश स्टोरलाई ५ हजार जरिवाना गरिएको विभागले जनाएको छ।
त्यसैगरी, ललितपुर महानगरपालिका–१४, इमाडोलमा रहेको हिमालय डेरी प्रोडक्ट्स प्रा.लि.लाई आवश्यक कागजातसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ भने चन्द्रागिरि नगरपालिका मच्छेगाउँस्थित एक डेरीलाई ७ दिनभित्र कागजात पेश गर्न निर्देशन दिइएको छ।
अन्य पसल तथा उद्योगहरूलाई भने सामान्य निर्देशन दिइएको विभागले उल्लेख गरेको छ। विभागले बजार अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ता हितविपरीत गतिविधि गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।











